फिल्म ‘परालको आगो’ ले सुखद् सुरूआत गरेको छ।
सौगात मल्ल, प्रकाश सपुत र सुहाना थापा अभिनीत फिल्मले दुई दिनमै १ करोड रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको निर्माणपक्षले जनाएको छ।
निर्माता सुशील पोखरेलका अनुसार फिल्मले शुक्रबार र शनिबार गरेर उक्त कमाइ गरेको हो। उनका अनुसार फिल्मले शुक्रबार ३७ लाख रूपैयाँभन्दा बढी ग्रस कमाइ गरेको थियो। शनिबार फिल्मको व्यापारमा बृद्धि भएको उनले बताए।
उनले भने, ‘यो सुखद् व्यापार हो। दर्शकले फिल्म हेरेपछि दोहोर्याएर हेर्नुहुन्छ।’ फिल्म हेर्न दर्शकको उपस्थिति उत्साहजनक रहेसँगै कलाकारहरू शनिबार विभिन्न हलमा पुगेका थिए। त्यसक्रममा दर्शकले फिल्म मन परेको प्रतिक्रिया दिए। गुरूप्रसाद मैनालीको अमर कथा ‘परालको आगो’ बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, मन्जिला बानियाँलगायत कलाकारहरूको अभिनय छ।
हरि ओम सिने मेकर्स प्रा.लि.को ब्यानरमा बनेको फिल्म लक्ष्मण सुनारले निर्देशन गरेका हुन्।

