अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षका अनुसार फेब्रुअरी २७ (शुक्रबार) देखि भारतका विभिन्न सहरमा फिल्म एकसाथ रिलिज गरिनेछ।
भारतमा रहेका सिनेमाप्रेमी तथा नेपाली समुदायलाई लक्षित गर्दै फिल्म दार्जिलिङ, सिक्किम, देहरादुन, दिल्ली, कालिम्पोङ, सिलिगुरी र कोलकातासहित नेपाली भाषी दर्शकको उल्लेख्य बसोबास रहेका स्थानमा प्रदर्शन गरिनेछ। विभिन्न सिनेमा चेनहरूले अग्रिम बुकिङसमेत खुला गरिसकेका छन्।
रिलिजको पूर्वसन्ध्यामा फेब्रुअरी २६ (बिहीबार) गान्तोकमा प्रिमियर शो आयोजना गरिएको छ। प्रिमियरमा अभिनेता अनमोल केसी, भुवन केसी, अभिनेत्री जसिता गुरूङलगायत कलाकार तथा प्राविधिक टोली सहभागी हुनेछन्।
कार्यक्रममा गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटाको विशेष प्रस्तुति रहने निर्माता सरोज न्यौपानेले जानकारी दिए। फिल्म युनिट हाल सिक्किम पुगिसकेको छ।
सगरमाथा आरोहणको साहसिक कथामा आधारित ‘जेरी अन टप’ प्रेम, सम्बन्ध र युवापुस्ताको भावनात्मक यात्रामा केन्द्रित छ। फिल्मका निर्देशक सुयोग गुरूङ हुन्।
फिल्ममा अनमोलसँगै आँचल शर्मा, जसिता गुरूङ, केदार घिमिरे, भुवन केसी र उषा खड्गीलगायत कलाकारहरूको अभिनय रहेको छ। भारत प्रदर्शनको व्यवस्थापन असली प्रोडक्सनले गरेको हो।
भारतका विभिन्न सहरमा एकसाथ प्रदर्शन हुँदा नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारमा यो फिल्मको रिलिजले अर्थपूर्ण भूमिका खेल्ने अपेक्षा निर्माण टिमको छ।

