टि ट्वान्टी विश्वकप कप छनोट – नेपालको पहिलो जित


पूजा महतोको नटआउट अर्धशतकसँगै नेपालले आइसिसी महिला टि ट्वान्टी विश्वकप ग्लोबल छनोटमा पहिलो जित निकालेको छ।

नेपालले आज समूह चरणको आफ्नो तेस्रो खेलमा जिम्बाब्वेलाई ६ पराजित गरेसँगै सुपर सिक्स पुग्ने सम्भावना जीवित राखेको छ।

लगातार दुई खेलमा पराजित भएको नेपाली टोलीले तेस्रो खेलमा आएर पहिलो जित दर्ता गरेको हो।
१ सय ३० रनको लक्ष्य नेपालले १९. ३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।

उपकप्तान पूजाले नटआउट ५२ रन बनाइन् । पूजाको यो टि ट्वान्टी आईमा तेस्रो अर्धशतक हो । तीन अर्धशतक पूरा गर्ने उनी एक्लो नेपाली महिला क्रिकेटर हुन्। रुविना क्षेत्री २ रनमा नटआउट रहिन्। पूजाले ५० बलमा ४ चौका र २ छक्का प्रहार गरिन् ।

ओपनर विन्दु रावल १५ रनमा एलबीडब्लु धरापमा परिन्। कप्तान इन्दु बर्मा २२ रन बनाउँदा बोल्ड आउट भइन् । सीता रानामगर ११ रन बनाउँदा रिटायर्ड हर्ट भइन्।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो।

नेपालका लागि रिया शर्माले २ विकेट लिइन्। कविता कुवँर, पूजा महतो, सीता र रुविनाले समान १ विकेट आफ्नो नाममा गरे। जिम्बाब्वेका लागि केलिस ध्लोबुले सर्वाधिक ५२ रन बनाइन्। विलभ्ड विजाले ३४ रन जोडिन् ।

लगातार चौथो खेलमा हार भोगेसँगै जिम्बाबे समूह चरणबाट अंकविहिन रुपमा बाहिरिएको छ।
नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले तथा नेदरल्यान्डससँग २ रनले पराजित भएको थियो।

नेपालले समूह चरणको अन्तिम खेलमा सोमवार स्कटल्यान्डसँग खेल्नेछ। सुपर सिक्स पुग्न नेपालले त्यो खेल जितेर मात्र पुग्ने छैन।

स्कटल्यान्डलाई हराउँदै नेट रन रेटनमा बलियो रहे सुपर सिक्स खेल्न सक्नेछ। हार वा नेटरनरेटमा पछि परे नेपाल समूह चरणबाट नै बाहिरिनेछ।


प्रकाशित मिति : २०८२ माघ १२, आईतवार गते

धेरै पढिएको

ताजा समाचार