भारत र पाकिस्तान एसिया कप इतिहासमा पहिलो पटक फाइनलमा भिड्दै


भारत र पाकिस्तान एसिया कप इतिहासमा पहिलो पटक फाइनलमा भिड्ने भएका छन् ।

युएईमा जारी एसीसी टि ट्वान्टी एसिया कपको सुपर फोरमा भारत र पाकिस्तान शीर्ष दुईमा रहँदै फाइनलमा स्थान बनाएका छन् ।

फाइनलमा पुग्न बिहीवार निर्णायक खेलमा पाकिस्तानले बंगलादेशलाई ११ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

भारतले भने शुक्रबार श्रीलंकासँग खेल्नु अगावै नै लगातार दुई जितका साथ फाइनलमा स्थान बनाएको थियो ।

सन् १९८४ देखि सुरु भएको एसिया कपका यसअघि १६ संस्करणको फाइनलमा भारत र पाकिस्तान भिडेका थिएनन् ।

भारतले ८ पटक ( १९८४, १९८८, १९९०/ ९१, १९९५, २०१०, २०१६, २०१८ र २०२३) मा एसिया कप उपाधि जितेको थियो । त्यस्तै पाकिस्तानले २००० र २०१२ मा एसिया कप उपाधि जितेको थियो ।

यसअघि समूह चरण र सुपर फोर दुबैमा भारतले पाकिस्तानलाई हराएको थियो । दुबई क्रिकेट रंगशालामा आइतवार हुने फाइनलमा भारत र पाकिस्तानबीचको प्रतिस्पर्धा निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।

केही महिनाअघि भारतको जम्मुकश्मिर स्थित पहलगाममा आतंककारी आक्रामणपछि यी दुई देशबीच युद्ध भएको थियो ।

त्यसपछि भारतीय खेलाडीले पाकिस्तानको टोलीसँग हात समेत मिलाएका छैनन् । त्यसैले आइतवार हुने फाइनल निकै महत्वका साथ हेरिएको छ ।


प्रकाशित मिति : २०८२ आश्विन १०, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार