चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता, एससिओ सम्मेलनमा सहभागिता र लिपुलेकबारे चासो


काठमाडौँ, भदौ १९ गते । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्कनुभएको छ  । उहाँ राति करिब १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो ।

उहाँलाई विमानस्थलमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणालगायत मन्त्रीपरिषद्का सदस्य एवं उच्च पदस्थ सरकारी अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

चीनको तियानजिनमा सम्पन्न साङ्घाई सहयोग सङ्गठन (एससिओ) २५ औँ शिखर सम्मेलन तथा बेइजिङस्थित तियानमिन स्क्वायरमा विश्व फासीवादविरुद्धको विश्वयुद्ध र जापानी उपनिवेशविरुद्ध चिनियाँ जनताको विजयको ८० औँ वार्षिकोत्सवमा आयोजना गरिएको स्मृति समारोह तथा सैनिक परेडमा सहभागी भई उहाँ स्वदेश फर्कनुभएको हो ।

प्रधानमन्त्री ओलीको भ्रमणका बारेमा परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै भ्रमण फलदायी रहेको जानकारी दिएको छ । वक्तव्य अनुसार यस भ्रमणको मूल उद्देश्य चीनको थियानजिन सहरमा आयोजित साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिई सो सङ्गठनमा नेपालको सहभागिताको स्तर अभिवृद्धि गर्नुका साथै सोमार्फत नेपालको राष्ट्रिय हित प्रवर्धन गर्नु रहेको प्रस्ट्याइएको छ ।

भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेट गरी दुई पक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयहरूमा खुला र हार्दिकतापूर्ण छलफल गर्नुभएको थियो । सो क्रममा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्ध समस्यारहित रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालको विकास प्रयासमा पु¥याउँदै आएको निरन्तर सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ । साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनको सफलताको कामना गर्दै सो संस्थामा नेपालको पूर्ण सदस्यताको समर्थनका लागि चिनियाँ राष्ट्रपतिसँग अनुरोध गर्नुभएको थियो ।

मन्त्रालयका अनुसार बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत सहमति भएकालगायत विभिन्न परियोजनाहरूको शीघ्र कार्यान्वयन हुनेमा आशा व्यक्त गर्दै उहाँले रासायनिक मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु परिवर्तनको प्रभावसँग जुध्ने क्षमता अभिवृद्धि तथा जनस्तरको सम्बन्ध सुदृढीकरण जस्ता क्षेत्रहरूमा सहयोगका लागि अनुरोध गर्नुभयो ।

नेपालको भूभाग लिपुलेक नाकामार्फत सीमा व्यापार गर्नेसम्बन्धी भारत र चीनबिच हालै भएको समझदारीप्रति प्रधानमन्त्रीले आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न चीनका राष्ट्रपतिलाई अनुरोध गर्नुभएको पनि मन्त्रालयले जनाएको छ ।

चीनका महामहिम राष्ट्रपति सी चिनफिङले “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने कार्यमा चीनको सहयोग रहने अभिव्यक्ति राख्नुभएको मन्त्रालयले दोहो¥याएको छ । उहाँले चीनले संयुक्त राष्ट्रसङ्घ र साङ्घाई सहयोग सङ्गठनलगायतका बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने पनि प्रतिबद्धता जनाउनुभएको छ ।

साथै चीनका राष्ट्रपति सीले एक चीन सिद्धान्तप्रति नेपालको दृढ प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गर्दै दुई देशबिच सहमति भएका उच्च–गुणस्तरीय बिआरआई परियोजनाहरूको कार्यान्वयनमार्फत नेपालको विकासमा चीनको निरन्तर सहयोग रहने अवगत गराउनुभएको थियो ।

चीनमा विविध समारोहमा सरिक

बुधबार स्वदेश फर्कनुअघि तियानमिन स्क्वायरमा ओयोजित सैन्य परेड समारोहमा प्रधानमन्त्री ओलीसहित प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधि सभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली सहभागी हुनुभयो ।

समारोहमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन, कम्बोडिया राजा नोरोदोम सिहामोनी, भियतनामका राष्ट्रपति लुओङ कुओङ, लाओसका राष्ट्रपति थोङलुन सिसोलिथ, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम, मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुख, पाकिस्तानका प्रधानमन्त्री साहबाज सरिफलगायत विश्वका २६  देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको सहभागिता रहेको थियो ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार परेडमा हजारौँ सेना, अत्याधुनिक ‘एयरक्राफ्ट’ विमान, अत्याधुनिक हतियार मात्र नभई चिनियाँ सशस्त्र सेनाको संरचनाको नयाँ रूपरेखाको प्रदर्शन भएको छ । सो अवसरमा चिनियाँ जनमुक्ति सेनाले अत्याधुनिक क्रुज मिसाइल, हाइपरसोनिक मिसाइल, आणविक मिसाइलहरू हवाई प्रतिरक्षा प्रणाली, बम वर्षक लडाकु विमान र ट्याङ्कसहितका हातहतियार प्रदर्शन गरेको थियो । यसै गरी बेइजिङको आकाशमा १४ वटा रङ छर्दै जे–१० एरोबेटिक्स विमानले हवाई प्रदर्शन पनि गरेको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रदर्शनीमा राखिएका जमिन, समुद्री र हवाई लडाइँ समूहहरूको निरीक्षण गर्नुभएको थियो । कतिपय हतियार र उपकरण पहिलो पटक सार्वजनिक गरिएको थियो ।

समारोहपछि प्रधानमन्त्री ओली राष्ट्रपति सीले ग्रेट हल अफ दी पिपुल्समा आयोजना गर्नुभएको दिवाभोजमा सहभागी भएर बुधबार साँझ बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सको विशेष विमानमार्फत स्वदेश फर्कनुभयो । विमानस्थलमा उहाँलाई चिनियाँ अधिकारी र बेइजिङस्थित नेपाली दूतावासका कर्मचारीले बिदाइ गरेका थिए ।


प्रकाशित मिति : २०८२ भाद्र १९, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार