अमेरिकाको फ्लोरिडामा जारी सिरिजको दोस्रो खेलको अन्तिम बलमा वेस्ट इण्डिजले रोमाञ्चक २ विकेटको जित निकालेको हो ।
वेस्ट इण्डिजले सन् २०१७ मा घरेलु मैदानमा भएको सिरिजको तेस्रो खेलमा पाकिस्तानमाथि अन्तिम पटक जित निकालेको थियो ।
रोमाञ्चक जितसँगै ३ टि ट्वान्टी आई सिरिज १-१ को बराबरीमा पुगेको छ । १ सय ३४ रनको सामान्य लक्ष्य पूरा गर्न वेस्ट इण्डिजलाई अन्तिम बलसम्म कुर्नु परेको थियो ।

वेस्ट इण्डिजका जेसन होल्डरले अलराउण्ड प्रदर्शन गरे । १० बलमा समान १ छक्का र चौकासहित अविजित १६ रन बनाएका उनले बलिङमा ४ विकेट लिए। २ क्याच समेत लिएका होल्डर प्लेयर अफ द म्याच भए ।
गुणकेश मोटीले २० बलमा १ चौका र २ छक्काको सहयोगमा सर्वाधिक २८ रन जोडे । कप्तान शाइ होप २१, रोस्टन चेस १६, रोमारियो शेफर्ड १५ तथा ओपनर जिवाल एन्ड्रु १२ रनमा आउट भए ।
पाकिस्तानका मोहम्मद नवाजले ३, सैयम अयुबले २ तथा सफियान मुकिम र शाहिन शाह अफ्रिदीले समान १ विकेट आफ्नो नाम गरे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो ।

पाकिस्तानका हसन नवाजले २३ बलमा १ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ४० रन बनाए । कप्तान सलमान आगा ३३ बलमा ३ चौका र १ छक्कासहित ३८ रन जोडे । फखर जमान १९ बलमा २० रनमा आउट भए ।
वेस्ट इण्डिजका होल्डबाहेक गुणकेश मोटीले २ तथा रोस्टन चेस, शेमार जोसेफ र अकिल होसेनले समान १ विकेट लिए । सिरिजको अन्तिम तथा निर्णायक खेल सोमवार हुनेछ ।

