काठमाडौं, नेपाल, आशिष लामिछाने – २०८१ कात्तिक १ : हजारौंको संख्यामा जलवायु अभियान्ता, नागरिक समाज,पिछदिएको वर्ग,अपांगता भएका व्यक्तिहरू साना किसान, आदिवासी समुह र स्थानीय समुदायहरूले नेपालका विभिन्न १६ स्थानहरूमा जलवायु वित्तको माग गर्दै आज सडकमै उत्रिएका छन्।यी प्रदर्शनहरू बाकु, अजरबैजानमा जारी कोप-२९ (COP-29) को समर्थनमा गरिएको हो। यो आन्दोलनले वैश्विक उत्तर(ग्लोबल नर्थ) का सरकारलाई ऐतिहासिक जलवायु ऋण चुकाउन र वैश्विक दक्षिण (ग्लोबल साउथ)प्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न आह्वान गरेको छ।

काठमाडौंमा र्याली भृकुटीमण्डपबाट शुरू भएर रत्नपार्क स्थित शान्ति बाटिकामा गएर बिसर्जन भयो भने चितवन, ढल्केबर, विराटनगर, जनकपुर, पोखरा, लमजुंग, हेटौडा, बुटवल, धनगढी, धुलिखेल, धादिङ, झापा सप्तरी, सुर्खेत, र नेपालगञ्जमा समवर्ती गतिविधिहरू सञ्चालन गरिए। देशभरिका उल्लेखित १६ शहरहरूमा जलवायु अभियान्ता, नागरिक समाज र स्थानिय समुदाय जलवायु न्यायको माग गर्दै र्यालीको हिस्सा बने। आजको र्यालीको केन्द्रीय माग स्पष्ट छ: वैश्विक उत्तरले(ग्लोबल नर्थले) आफ्नो जलवायु वित्तको प्रतिवद्धता पूरा गर्नुपर्छ। औद्योगिक देशहरूको ऐतिहासिक जलवायु ऋण, जसको अनुमानित रकम प्रति वर्ष पाँच ट्रिलियन अमेरिकी डलर छ त्यो चुकाउनु पर्नेछ। यो भविष्यको लागि एक न्यायपूर्ण र दिगो मार्गको पहिलो किस्ता हो, जसले विश्व उत्तरको विगतका कार्य र निष्क्रियताले सिर्जना गरेका गम्भीर असमानताहरू र अन्यायहरू न्युनिकरण गर्दछ।

जलवायु संकटले विश्वका सबै देशमा समान रूपको र साझा चुनौती सिर्जना गरेको छैन। ग्लोबल नर्थले आर्थिक वृद्धिका लागि गरेका क्रियाकलापहरूले, दक्षिणका देशहरूविशेष गरी नेपालजस्ता देशहरुले दैनिक रूपमा यसको भयानक प्रभावहरूको सामना गरिरहेका छन्, जस्तै बाढी, खडेरी, र गर्मी लहर। हाम्रा हिमश्रिखंला दिन दिनै पगलिदै गएका छन र हिमताल फुटने लहरो छ। नेपाल जस्तो देशको लागि जलवायु संकटले प्रति दिन नयाँ चुनौती थपदैछ, जसले हाम्रो जीविकोपार्जन र जैविक विविधतालाई नै खतरा पुर्याउदैछ। तसर्थ अब वैश्विक उत्तरले आफ्नो ऐतिहासिक जिम्मेवारी स्वीकार गरेर कदम चालनु बाहेक अन्य कुनै उपाय छैन।

आजको कार्यक्रम केवल एक र्याली मात्र होइन, यो जलवायु न्यायको लागि विश्वको दृष्टिकोणमा परिवर्तनको आह्वान हो। आजको र्यालीले निम्नलिखित प्रमुख मागहरु गरेको छ:
- जलवायु वित्तलाई ऋणको रूपमा होइन, अनुदानको रूपमा प्रदान गर्नुपर्छ।
- जलवायु वित्तले समावेशी वित्तीय दृष्टिकोणमा ध्यान दिनुपर्छ।
- औद्दोगिक राष्ट्रहरुले जलवायु वित्तको विद्यमान प्रतिबद्धताहरू बदाउनु पर्छ।
- अनुदान समयमै र विश्वसनीय हुनु आवश्यक छ।
- कोषको वितरण पारदर्शी र उत्तरदायी हुनु पर्छ।
- जलवायु वित्तले समुदाय-केन्द्रित समाधानलाई प्राथमिकता दिनुपर्छ, जसले पिछदिएको वर्ग, आदिवासी समुदाय र विशेष चुनौती भएको व्यक्तिहरूको समस्या सम्बोधन गर्नुपर्छ।
यो र्याली विश्वभरको आन्दोलनको हिस्सा हो, जसले जलवायु संकटलाई उचित रूपमा समाधान गर्न सामाजिक, आर्थिक र राजनीतिक प्रणालीमा परिवर्तनको आह्वान गर्दछ।यो मार्च वैश्विक आन्दोलनको दिनको समर्थनमा आयोजित गरिएको हो, र COP-29 वार्ताहरूको बीचमा गरिएको छ, जहाँ तत्काल जलवायु क्रियाको लागतको समाधानका लागि महत्वपूर्ण निर्णयहरू गरिने छन्। थामे, सिन्धुपाल्चोक, मुस्ताङ र तराईजस्ता स्थानहरूमा, समुदायहरूले दैनिक रूपमा जलवायु परिवर्तनका प्रभावहरूको सामना गरिरहेका छन्।त्यसैले पनि यो र्याली र अहिले उठेका आवाजहरुले तात्कालिक समयमा विशेष अर्थ राखेको छ। आज, नेपाली युवा र नागरिक समाजले स्पष्ट पारे: हामी हाम्रो भविष्यको जोखिममा हेर्दै चुपचाप बस्न सक्दैनौं।

