नेपालले कुवेतविरूद्ध बनायो २१३ रन


आइसिसी यू-१९ महिला विश्वकप एसिया छनोट २०२४ अन्तर्गत कुवेतविरूद्ध नेपालकी कप्तान पूजा महतोले उत्कृष्ट ब्याटिङ गरेकी छन्।

युएईको अजमानस्थित द सेभेन्स रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान पूजाले शतक प्रहार गर्दै इतिहास बनाएकी हुन्। उनी नेपालको महिला यू-१९ टोलीका लागि अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो ब्याटर बनिन्।

May be an image of 2 people and text

पूजाले खेलमा नटआउट १३० रन जोडिन्। उनले ६९ बल खेल्दा १७ चौका प्रहार गरेकी थिइन्। सोनी पाख्रिनले नटआउट ४३ रन जोडेर पूजालाई राम्रो साथ दिइन्। सोनीले ३३ बलमा २ चौका प्रहार गरिन्।

पूजा र सोनीबीच नटआउट १५७ रनको साझेदारी भएको थियो। पूजा र सोनीको उत्कृष्ट ब्याटिङसँगै नेपालले २ विकेटको क्षतिमा २१३ रन जोडेको छ। यो नेपाली महिला यू-१९ टोलीले बनाएको अहिलेसम्मकै उच्च स्कोर हो।

त्यसअघि ओपनरद्वय सना प्रवीन ६ रन र सावित्री धामी ११ रनमा आउट भएका थिए।

प्रतियोगितामा नेपालले पहिलो राउन्डको लिग खेलिसकेको छ। जसमा नेपालले कुवेत र थाइल्यान्डलाई पराजित गर्दा आयोजक युएईसँग भने हारेको थियो। अब नेपालले दोस्रो राउन्डको लिगमा कुवेतसँग खेलेपछि फेरि थाइल्यान्ड र युएईसँग खेल्नेछ।

प्रतियोगिताबाट एक टोली आगामी जनावरीमा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ। नेपाललाई विश्वकपमा स्थान पक्का गर्न आजको खेलसँगै थाइल्यान्ड र युएई दुवैलाई पराजित गर्नु पर्ने दबाब छ।


प्रकाशित मिति : २०८१ कार्तिक २७, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार