अस्ट्रेलिया र इङ्ग्ल्यान्डको विजयी सुरुवात


युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साविक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको हो ।

लगातार दोस्रो हार बेहोर्ने क्रममा श्रीलंका अस्ट्रेलियासँग ६ विकेटले पराजित भयो । श्रीलंका पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।

९४ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले १४.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । अस्ट्रेलियाकी ओपनर बेथ मुन्नीले ३८ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४३ रन जोडिन् ।

एल्सी पेरीले १५ बलमा १७ तथा एश्ले गार्डनरले १५ बलमा १२ रन बनाइन् ।श्रीलंकाकी उडेसिका प्रवोधनी, इनोका रनविरा र सुगन्धिका कुमारीले समान १ विकेट लिए ।

शारजहामा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो । श्रीलंकाकी निलशिखा शर्माले ४० बलमा नट आउट २९, हर्षिता समराविक्रमाले ३५ बलमा २३ तथा अनुष्का सन्जिवनीले १५ बलमा १६ रन जोडेकी थिइन् ।

अस्ट्रेलियाका लागि मेगना स्कुटले ३ तथा सोफी मोलिनक्सले २ विकेट लिइन् । जितबाट सुरुवात गरेको अस्ट्रेलिया समूह ए को दोस्रो स्थानमा छ । लगातार दुई हार सहित श्रीलंका अंकबिहिन रहेको छ ।

शनिवारै भएको दोस्रो खेलमा बंगलादेशमाथि इङ्ग्ल्यान्डले जित दर्ता गरेको छ । आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको इङ्ग्ल्यान्डले बंगलादेशमाथि २१ रनको जित निकाल्यो ।

१ सय १९ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र बनायो । बंगलादेशकी सोभाना मस्टोरीले ४८ बलमा ४४ तथा कप्तान निगर सुल्तानले २० बलमा १५ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन पनि सकेनन् ।

इङ्ग्ल्यान्डकी लिन्से स्मिथ र चार्ली डीनले समान २ तथा सराह ग्लेनले १ विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय १८ रन मात्र बनायो ।

इङ्ग्ल्यान्डका लागि डन्नी व्याटहोजले ४० बलमा सर्वाधिक ४१, माईया बाउचियले १८ बलमा २३ तथा अमाइ जोन्सले १६ बलमा १२ रन जोडिन् ।

बंगलादेशका लागि नहिदा अक्तर, फहिमा खातुन र रितु मोनीले समान २ तथा रिब्या खानले १ विकेट लिइन् । जितबाट सुरुवात गरेको इङ्ग्ल्यान्ड समूह बी को शीर्ष स्थानमा छ ।

समूह ए मा साविक विजेता अस्ट्रेलियासहित भारत, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड छन् । समूह बी मा भने दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् । समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्।


प्रकाशित मिति : २०८१ आश्विन २०, आईतवार गते

धेरै पढिएको

ताजा समाचार