हुम्लामा ५१ लाख बराबरको अवैध चिनियाँ मदिरा बरामद


हुम्ला, साउन २९ गते । नेपाल–चीन सीमा नाम्खा गाउँपालिका–६ को लाप्चा क्षेत्रबाट भित्र्याइएको ५१ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा सुरक्षाकर्मीको संयुक्त टोलीले बरामद गरेको छ। व्यापार मेलाका क्रममा लाप्चा नाकाबाट भित्र्याइएको उक्त मदिरा बेवारिसे अवस्थामा राखिएको भेटिएपछि सुरक्षाकर्मीले बरामद गरेका हुन्।

लाप्चा नाकाबाट भित्र्याइएको बेवारिसे अवस्थामा रहेको अवैध चिनियाँ मदिरा नियन्त्रणमा लिन संयुक्त सुरक्षाकर्मीको टोली सफल भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताउनुभयो।

उहाँका अनुसार बरामद मदिरा ५९४ कार्टुन रहेको छ। एउटा कार्टुनमा १२ बोतल हुने भएकाले जम्मा सात हजार १२८ बोतल चिनियाँ मदिरा बरामद भएको छ।

त्यसैगरी, सोही क्रममा सुरक्षाकर्मीको टोलीले १९४ कार्टुन चिनियाँ बियर पनि बरामद गरेको छ। एउटा कार्टुनमा २४ बोतल हुने भएकाले जम्मा चार हजार ६५६ बोतल बियर बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद मदिरा र बियरको कुल मूल्य ५१ लाख ९३ हजार ६०० रुपियाँ रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो।

व्यापार मेलाका क्रममा चिनियाँ मदिरा भित्र्याइएको सूचनाका आधारमा सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीको नेतृत्वमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो। सल्ली क्षेत्रमा परिचालित टोलीले बेवारिसे अवस्थामा राखिएको मदिरा बरामद गरेको हो। बरामद मदिरा शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय हुम्लामा ल्याइएको छ।


प्रकाशित मिति : २०८३ श्रावण २९, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार