चन्द्रागिरीको पानी उद्योगमा खाद्य विभागको अनुगमन, प्रयोगशाला परीक्षणका लागि नमुना संकलन


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चन्द्रागिरी नगरपालिका–०८ मा रहेको ‘रोयल स्प्रिङ मिनरल वाटर एण्ड वेभरेज प्रा.लि.’ मा आकस्मिक अनुगमन गरेको छ । विभागले ‘र्‍यापिड रेस्पोन्स मोडालिटी’ अन्तर्गत उक्त उद्योगको निरीक्षण गरेको हो ।

प्राप्त उजुरीका आधारमा गरिएको अनुगमनका क्रममा उक्त उद्योगको प्रशोधन कक्ष अव्यवस्थित रहेको र सरसफाइ अवस्था सामान्य मात्र पाइएको विभागले जनाएको छ । अनुगमन टोलीले उद्योगमा प्रयोग भइरहेका सात थान कुच्चिएका र पुराना जारहरू तत्काल नष्ट गरेको छ ।

उजुरीमा उल्लेख भएजस्तो पानीमा लेउ लागेको वा ब्याच नम्बर नभएको अवस्था भने निरीक्षणका क्रममा फेला नपरेको प्रतिवेदनमा उल्लेख छ ।  यद्यपि, पानीको गुणस्तर विस्तृत रूपमा जाँच गर्न प्रयोगशाला परीक्षणका लागि नमुना संकलन गरिएको छ ।

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा.बालकुमारी शर्माका अनुसार उद्योगलाई सरसफाइमा विशेष ध्यान दिन र आवश्यक अभिलेखहरू दुरुस्त राख्न निर्देशन दिइएको छ । प्रयोगशालाको प्रतिवेदन आएपछि थप प्रक्रिया अगाडि बढाइने विभागले बुधबार जनाएको छ ।


प्रकाशित मिति : २०८३ असार २४, बुधबार गते

धेरै पढिएको

ताजा समाचार