सुर्खेत । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । त्यसका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको उनको भनाइ छ ।
बुधबार मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै पोखरेलले भने– ‘त्यसका लागि हामीले आवश्यक बजेट, पूर्वाधार र विशेषज्ञको व्यवस्था गर्न भरपुर प्रयास गर्नेछौँ ।’
विश्वविद्यालयले स्थानीय आवश्यकताको पहिचान गर्दै प्रदेशमा प्रचुर मात्रामा रहेको जलस्रोत, वन, जडीबुटी, पर्यटन र सांस्कृतिक धरोहरको अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।
‘म सरकार तथा मेरो मन्त्रालयको तर्फबाट यो विश्वविद्यालयलाई उच्च शैक्षिक मापदण्ड, डिजिटल शिक्षा र रोजगार उन्मुख कार्यक्रमका लागि आवश्यक सहयोग गर्न पूर्णतः प्रतिबद्ध छु,’ उनले भने ।
मध्यपश्चिम विश्वविद्यालय कर्णाली प्रदेशकै गौरवमा रूपमा रहेको बताउँदै उनले शैक्षिक स्तर उन्नति, अनुसन्धान र प्रविधिमा उदाहरणीय योगदान पुर्याएको बताए ।
उनले विश्वविद्यालय स्थापना भएको पौने दुई दशकको अवधिमा अनुसन्धानमूलक शिक्षा, खेलकुद, डिजिटल शैक्षिक प्रविधि र नवीनतम प्रविधिको उपयोग सुनिश्चित गर्न विश्वविद्यालयले देखाएको प्रतिबद्धताको प्रशंसा गरे ।
दीक्षित विद्यार्थीलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले भने, ‘तपाईँले प्राप्त गर्नुभएको शिक्षा केवल आफ्नो व्यक्तिगत प्राप्तिको लागि मात्र होइन, समाज र राष्ट्रको विकासको लागि सशक्त माध्यम पनि हो ।’
नेपालको सन्दर्भमा हामी विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको उनले बताए ।
‘तपाईंहरूले प्राप्त गर्नुभएको गुणस्तरीय शिक्षाले देशले सामना गरिरहेको अभाव, गरिबी, बेरोजगारी, स्वास्थ्यजन्य चुनौती, जलवायु परिवर्तन, सूचना प्रविधि र जैविक विविधता जस्ता विषयमा ठोस समाधान दिन सक्षम बनाउनेछ,’ उनले थपे, ‘तपाईंहरूको पुस्ताले उद्यमशीलता, अनुसन्धान, नवप्रवर्तनको बलमा देशको अर्थतन्त्रलाई बलियो बनाउन ठुलो योगदान दिने क्षमता राख्दछ ।’

