मध्यपश्चिम विश्वविद्यालयका १ हजार ९२८ विद्यार्थी दीक्षित हुँदै


१ असार, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका १ हजार ९ सय २८ विद्यार्थी दीक्षित हुने भएका छन् । यही ३ असारमा वीरेन्द्रनगरमा आयोजना हुने विश्वविद्यालयको चौथो दीक्षान्त समारोह तथा १८औँ वार्षिक उत्सवका अवसरमा उनीहरू दीक्षित हुन लागेका हुन् ।

दीक्षान्त समारोहमा २०८३ जेठ ८ गतेसम्म ट्रान्सक्रिप्ट प्राप्त गरिसकेका ग्रेस लिस्टमा समावेश १९ सय २८ विद्यार्थी दीक्षित हुनेछन् । जसमध्ये ४ सय ५५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका छन् । तीमध्ये ४ सय २८ जनाले आफ्ना अभिभावकसहित उपस्थित हुने गरी आवेदन दिएको विश्वविद्यालय सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

विद्यार्थीमध्ये स्नातकोत्तर तहमा सर्वोत्कृष्ट एक जनाले कुलपति पदक तथा स्नातक तहमा सर्वोत्कृष्ट एक जनाले उपकुलपति पदक प्राप्त गर्नेछन् । यस्तै सबै र्ग्याजुएट स्कुलबाट स्नातकोत्तर तहका लागि डिन लिस्टमा परेका ५ जना तथा स्नातक तहका ७ जना सहित १४ जना विद्यार्थीले प्रमाणपत्रसहित पदक प्राप्त गर्ने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहसम्म कुल ६ हजार ३७० विद्यार्थी दीक्षित भइसकेका छन् । चौथो दीक्षान्तसम्म आइपुग्दा मध्यपश्चिम विश्वविद्यालयबाट ८ हजार २९८ जना विद्यार्थीहरू दीक्षित भएको विश्वविद्यालयका उपकुलपति नारायणप्रसाद पौडेलले जानकारी दिए ।

चौथो दीक्षान्त समारोहको अध्यक्षता विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गर्ने छन् भने  त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शिक्षाविद् केदारभक्त माथेमाको प्रमुख आतिथ्यता रहने बताइएको छ ।

विश्वविद्यालयमा सातवटा र्ग्याजुएट स्कुल अन्तर्गत सुर्खेतस्थित केन्द्रीय विभागहरू, ललितपुरस्थित एमआईसीडी, कर्णाली र लुम्बिनी प्रदेशमा गरी १० वटा आङ्गिक क्याम्पस, काठमाडौँमा रहेको एक सम्बन्धन प्राप्त क्याम्पसमा विभिन्न विषयको अध्ययन–अध्यापन भइरहेको छ ।

र्ग्याजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्सेअन्तर्गत ९ विषयमा स्नातक र १३ विषयमा स्नातकोत्तर कार्यक्रम तथा दर्शनाचार्यसहित विद्यावारिधि कार्यक्रम सञ्चालनमा रहेको उपकुलपति पौडेलले जानकारी दिए ।

उनका अनुसार, र्ग्याजुएट स्कुल अफ म्यानेजमेन्टअन्तर्गत स्नातकतर्फ बीबीएस, बीबीए, बीएचएम, बीटीटीएम तथा स्नातकोत्तरतर्फ एमबीएस, एमबीए, एमपीए, दर्शनाचार्य र विद्यावारिधि कार्यक्रम सञ्चालित छन् ।

त्यसै गरी, र्ग्याजुएट स्कुल अफ एजुकेसनअन्तर्गत ८ विषयमा स्नातक र ७ विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा छन् । र्ग्याजुएट स्कुल अफ इन्जिनियरिङअन्तर्गत स्नातकतर्फ ३ र स्नातकोत्तरतर्फ २ कार्यक्रम सञ्चालित छन् । र्ग्याजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीमा स्नातकतर्फ ८ र स्नातकोत्तरतर्फ २ कार्यक्रम सञ्चालनमा छन् ।

र्ग्याजुएट स्कुल अफ ल अन्तर्गत स्नातकतर्फ पाँच वर्षे बीएएलएलबी कार्यक्रम तथा र्ग्याजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेष्ट्रीमा स्नातकतर्फ बीएस्सीएजी कार्यक्रम सञ्चालनमा रहेको विश्वविद्यालयले जनाएको छ ।


प्रकाशित मिति : २०८३ असार १, सोमबार गते

धेरै पढिएको

ताजा समाचार