इभी चार्जिङमा बिवाइडीको ठूलो सफलता, ५ मिनेट चार्जमा ५०० किलोमिटरसम्म यात्रा


विद्युतीय गाडी (इभी) प्रयोग बढ्दै जाँदा एउटा प्रश्न सधैं आउँछ — चार्ज गर्न कति समय लाग्छ?

यही प्रश्न मध्यनजर गरेर छोटो समयमै चार्ज हुने प्रविधि बनाउन अहिले कम्पनीहरूबीच तीव्र प्रतिस्पर्धा छ।

अहिले अधिकांश साना विद्युतीय गाडीमा औसत ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने प्रविधि छ।

तर चिनियाँ कम्पनी बिवाइडीले गाडी चार्ज गर्न लाग्ने समयमा ठूलो सफलता हात पारेको छ।

बिवाइडीले हालै फ्ल्यास चार्जिङ प्रविधि सार्वजनिक गरेको छ। यो प्रविधि दोस्रो पुस्ताको ब्लेड ब्याट्रीमा आधारित छ।

यो प्रविधिले चीनमा तीव्र रूपमा विस्तार गरिएको ‘सुपर ई–प्लेटफर्म’ मा आधारित गाडी १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज गर्न ५ मिनेट मात्र लाग्नेछ।

कम्पनीका अनुसार यति चार्जले गाडी करिब ४०० देखि ५०० किलोमिटर चल्न सक्छ।

त्यस्तै १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज हुन पनि ९ मिनेट मात्र लाग्छ।

बिवाइडीले गाडी चार्जमा गरेको यो तरक्कीले बिक्रेताहरूलाई उत्साहित गरेको बिवाइडी नेपालका निर्देशक साहिल श्रेष्ठले बताए।

चीनमा नयाँ प्रविधि सार्वजनिक कार्यक्रममा सहभागी भएका साहिलले भने, ‘गाडीको ब्याट्री ९ प्रतिशतबाट ९७ प्रतिशतसम्म पुग्न आठ मिनेट २६ सेकेन्ड मात्रै लाग्यो। एक कप चिया पिउने समय पनि नपुग्दै चार्ज हुने भयो।’

उनले यसलाई ‘जीवन बदल्ने प्रविधि’ को संज्ञा दिए।

त्यस्तै बिवाइडीका एसिया प्यासिफिक महाप्रबन्धक लिउ सुएलियाङले विद्युतीय सवारी क्षेत्रमा यो प्रविधिलाई ऐतिहासिक र ठूलो परिवर्तनका रूपमा लिन सकिने बताए।

‘विद्युतीय गाडीको प्रतिस्पर्धा, विश्वसनीयता र समय बचत खोजिरहेका सन्दर्भका बिवाइडीले आफ्नो इन्नोभेसनबाट क्रान्तिकारी प्रविधि ल्याएको छ,’ उनले भने।

2-1778661949.jpg

महाप्रबन्धक लिउले विद्युतीय गाडीमा चासो राख्नेहरूले चिसो मौसमलाई लिएर पनि प्रश्न उठाउने गरेको भन्दै यसको पनि समाधान भएको बताए।

‘अत्यधिक चिसोमा पनि यसले उच्च गति चार्जिङ कायम राख्न सक्छ,’ उनले भने, ‘माइनस ३० डिग्री सेल्सियसमा समेत ब्याट्री २० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज गर्न १२ मिनेट मात्रै लाग्छ।’

तापक्रम घट्दा ब्याट्रीको क्षमता कम हुने, चार्जिङ गति सुस्त हुने तथा यात्रा दुरी घट्ने समस्या देखिएकाले उत्तरी युरोप, क्यानडा तथा हिमाली क्षेत्रका उपभोक्तामा विद्युतीय गाडीप्रति केही सन्देह रहँदै आएको थियो।

बिवाइडीको यो नयाँ प्रविधिले यो समस्या समाधान गर्ने दाबी उनले गरे।

दोस्रो पुस्ताको ब्लेड ब्याट्रीमा क्याथोड, इलेक्ट्रोलाइट र एनोडको संरचनामा परिवर्तन गरिएको छ। यसले लिथियम आयनलाई छिटो सर्ने वातावरण तयार पार्ने र ब्याट्रीभित्रको आन्तरिक प्रतिरोध घटाउने छ। ब्याट्रीको ऊर्जा घनत्व ५ प्रतिशतभन्दा बढी छ।

त्यस्तै एक पटकको पूरा चार्जमा १ हजार किलोमिटरभन्दा बढी दुरी तय गर्न सक्ने क्षमता रहेको दाबी कम्पनीले गरेको छ। नयाँ डेन्जा जेड–नाइन–जिटी मोडल १०३६ किलोमिटर चल्छ।

3-1778662037.jpg
कम्पनीका अनुसार सुरक्षाका हिसाबले पनि यो नयाँ ब्याट्रीकोले विभिन्न परीक्षण पार गरेको छ।

पाँच सय पटक फास्ट चार्ज गरिसकेपछि गरिएको ‘नेल पेनेट्रेसन’ परीक्षणमा ब्याट्रीबाट धुँवा, आगो ननिस्केको, बिस्फोट नभएको दाबी कम्पनीको छ। त्यस्तै परीक्षणमा चार वटा सेल एकैपटक सर्ट सर्किट हुँदा पनि ब्याट्री सुरक्षित थियो।

बिवाइडीले फ्ल्यास चार्जिङ स्टेसनलाई आफ्नो गाडीमा मात्र सीमित नराख्ने नीति लिएको छ। चीनमा निर्माण गरिएका फ्ल्यास चार्जिङ स्टेसन अन्य ब्रान्डका विद्युतीय गाडीले पनि प्रयोग गर्न सक्छन्।

यी स्टेसनमा फरक फरक क्षमताका चार्जिङ प्वाइन्ट राखिएको छ। फ्ल्यास चार्जिङ र सुपर फास्ट चार्जिङका लागि छुट्टाछुटै केबल (तार) व्यवस्था गरिएको हुन्छ।

सुपर फास्ट चार्जरमा १५०० किलोवाटसम्मको चार्जिङ क्षमता छ। सामान्य फास्ट चार्जिङको क्षमता ४०० किलोवाटसम्म हुन्छ।

चार्जिङ स्टेसनमा टी आकारको पुली डिजाइन छ। यसले चार्जिङ केबल जमिनमा छोइँदैन र अल्झिँदैन। गाडीको चार्जिङ पोर्ट जुनसुकै स्थानमा भए पनि सजिलै प्रयोग गर्न सकिन्छ।

बिवाइडीको ब्याट्रीको यो नयाँ प्रविधि हाल सुपर ई–प्लेटफर्ममा आधारित प्रिमियम मोडलमा मात्र छ। यसमा हान एल सेडान र ट्याङ एल एसयुभी समावेश छन्।

कम्पनीले भविष्यमा यो प्रविधि अन्य मोडलमा पनि विस्तार गर्ने संकेत दिएको छ।

चीनमा अहिले ४ हजारभन्दा बढी फ्ल्यास चार्जिङ स्टेसन सञ्चालनमा छन्। कम्पनीले सन् २०२६ को अन्त्यसम्म २० हजार वटा यस्ता स्टेसन पुर्‍याउने लक्ष्य राखेको छ।

यस्तो मेसिन तथा प्रविधि नेपालमा कहिले भित्रिन्छ भन्ने प्रश्नमा एसिया प्यासिफिक महाप्रबन्धक लिउले भने, ‘अहिले चीनमा मात्र छ। आगामी दिनमा विश्व बजारमा पनि प्रवेश हुनेछ, नेपालमा पनि हुनेछ।’


प्रकाशित मिति : २०८३ बैशाख ३१, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार