गोरखाको पालुङटार नगरपालिकाले नगरभित्र अतिक्रमण गरी बनाइएका सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न १५ दिने समयसीमा दिएको छ । नगरपालिकाले जारी गरिएको सूचनामा अनधिकृत रूपमा कब्जा गरिएका जमिनमा निर्माण गरिएका घरटहरा, पर्खाल तथा अन्य संरचना हटाउन निर्देशन दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकाको वैशाख ८ गते बसेको कार्यपालिका तथा नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण समितिको बैठकको निर्णय अनुसार वैशाख १७ गतेदेखि सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन समयसीमा तोकिएको हो ।
पालुङटार नगरपालिकाभित्र रहेका सार्वजनिक जग्गा, नदी खोला क्षेत्रको जग्गा, सरकारी जग्गा तथा ऐलानी तथा पर्ती जग्गामा अनुमतिबिना निर्माण गरिएका संरचना १५ दिनभित्र हटाउन निर्देशन गरिएको छ ।
नगरपालिकाभित्र रहेका सार्वजनिक जग्गामा केही व्यक्तिले अतिक्रमण गरी भोगचलन गरेको भन्ने जनगुनासोका आधारमा समयसीमा तोकेर हटाउन भनिएको नगरपालिकाले जनाएको छ ।

