काठमाडौँ उपत्यकाको नदी किनारा क्षेत्रमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम जारी रहेको छ ।
सरकारले सुकुमवासी हटाउने क्रमलाई सोमबार पनि जारी राखेको हो । सोमबार गैरीगाउँ र मनोहरा नदी किनार क्षेत्रमा रहेको सुकुमवासी बस्तीमा डोजर लगाइएको छ ।
सरकारले शनिबारबाट सुकुमवासी बस्ती हटाउन सुरु गरेको थियो । काठमाडौँको थापाथली, गैरीगाउँ र मनोहरा किनार क्षेत्रमा रहेका सुकुमवासी बस्ती हटाएर त्यहाँ बसोवास गर्दै आएका परिवारलाई दशरथ रङ्गशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखी विवरण टिप्ने तथा स्क्रिनिङको कार्य पनि सँगै भइरहेको छ ।
स्क्रिनिङपछि वास्तविक सुकुमवासीको पहिचान गरी उनीहरूलाई सहरी विकास मन्त्रालय तथा मातहतका निकायहरूले व्यवस्था गरेका विभिन्न स्थानका भवनहरूमा खानेबस्ने सुविधासहित अस्थायी रूपमा स्थानान्तरण गरिने जनाइएको छ ।
सरकारले नदी किनार तथा सार्वजनिक जग्गामा बनेका अव्यवस्थित बस्ती हटाउने अभियान अन्तर्गत शनिबार र आइतबार थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती हटाएको थियो भने हटाउन बाँकी रहेको क्षेत्रमा सोमबार पनि हटाउने कार्य जारी राखेको छ ।

