रूसले मध्यपूर्वमा अमेरिकी सैन्य आधारहरूलाई निशाना बनाउन इरानलाई मद्दत गरिरहेको बलियो प्रमाणहरू भए पनि बेवास्ता गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्।
एक पडकास्टमा बोल्दै अमेरिकाले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई विश्वास गर्ने भएकाले ती प्रमाणहरूको बेवास्ता गरेको उनले जिकिर गरेका छन्।
रूसी सैन्य उपग्रहहरूले खाडी राष्ट्र र इसराइलका महत्त्वपूर्ण ऊर्जा पूर्वाधार साथै त्यस क्षेत्रभरि रहेका अमेरिकी सैन्य अखडाहरूको फोटो खिचेको र ती तस्बिर र अन्य विवरण इरानलाई हस्तान्तरण गरेको उनले बताए।
‘मैले यो कुरा सार्वजनिक रूपमै भनेको छु। के हामीले अमेरिकाबाट रूसलाई यो रोक्नुपर्छ भन्ने कुनै प्रतिक्रिया सुन्यौं त?,’ जेलेन्स्कीले प्रश्न गरे।
उनले थपे, ‘समस्या यो हो कि उनीहरू पुटिनलाई विश्वास गर्छन्। र यो विडम्बनापूर्ण छ।’
जेलेन्स्कीले लगाएको लगाएको आरोप आधारहिन देखिँदैन। युक्रेनलाई रूसबारे खुफिया सूचना दिन बन्द गरेमा आफूले पनि इरानलाई त्यस्तो सूचना दिन बन्द गर्ने रूसले प्रस्ताव गरेको भनेर समाचार समेत आएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग केही हप्ता अघि अमेरिकाको मायामीमा भएको भेटका क्रममा रुसी दूत किरिल दिमित्रिएभले त्यस्तो प्रस्ताव गरेका थिए।
तर अमेरिकाले भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सो प्रस्ताव अस्वीकार गरेको भनेर सो विषयबारे जानकार दुई व्यक्तिहरूको हवाला दिंदै अमेरिकी अनलाइन पोलिटिकोले लेखेको थियो।
अमेरिका र इसराइलसँगको युद्धमा रूसले सैन्य सहयोग प्रदान गरिरहेको इरानले पनि स्वीकार गरेको छ।
युद्धमा अमेरिकी सैन्य संरचना र पछिल्ला गतिविधिको सटिक सूचना पाएर इरानले हमला गरिरहेको जस्तो देखिएको समाचार आएका थिए। कतिले रूसले इरानलाई त्यस्तो खुफिया सूचना प्रदान गरिरहेको भनेर टिप्पणी गरेका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि केही समयअघि सार्वजनिक रूपमा रूसले इरानलाई सहयोग गरिरहेको हुन सक्ने बताएका थिए। अमेरिकाले रूससँगको युद्धमा युक्रेनलाई सहयोग गरे जस्तै रूसी राष्ट्रपति पुटिनले पनि इरानलाई थोरै मद्दत गरिरहेको हुन सक्ने उनले अनुमान गरेका थिए।

