एट्लेटिको म्याड्रिडले बार्सिलोनालाई च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा २-० ले हराएको छ।
घरेलु मैदान क्याम्प नोउमा बार्सिलोना सुरुआतदेखि नै आक्रमणमा देखियो। तर पहिलो हाफको अन्त्यतिर पाउ कुबार्सीले रातो कार्ड सामना गरेपछि खेलको अवस्था परिवर्तन भयो।
कुबार्सीले एट्लेटिकोका जुलियानो सिमेओने लाई पछाडिबाट फाउल गरेपछि रातो कार्ड पाएका हुन्। त्यसपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो।
४५ औं मिनेटमा त्यसमा प्राप्त फ्रि किकमा जुलियन आल्भारेजले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

दोस्रो हाफमा पनि बार्सिलोना १० खेलाडीमै खेल्दा आक्रमण गर्ने प्रयास गरिरह्यो। तर एट्लेटिकोले ७०औं मिनेटमा अर्को गोल थप्यो। परिवर्तित खेलाडी अलेक्जान्डर सोर्लोथले माटेओ रुगेरीको पासलाई गोलमा परिणत गरेका हुन्।
खेलमा बार्सिलोनाले केही राम्रो अवसर पनि पाएको थियो। मार्कस रासफोर्ड को एक गोल अफसाइडका कारण रद्द भयो भने अर्को प्रहार पोस्ट नजिकैबाट बाहिरियो।
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिक ले दोस्रो हाफमा रोबर्ट लेवान्डोस्की र पेड्री लाई परिवर्तन गर्दै टोलीलाई आक्रमणमा लैजाने प्रयास गरे । तर सफलता मिल्न सकेन्।
गत साता ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले एट्लेटिकोलाई हराएको थियो। अब दोस्रो लेग अर्को साता एट्लेटिकोको मैदानमा हुनेछ।
पिएसजीसँग लिभरपुलको हार
पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिभरपुललाई च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा २-० ले हराएको छ।
यो जितले साविक विजेता समेत रहेको पिएसजीले उपाधि रक्षाको यात्रा अघि बढाउने सम्भावना बलियो बनाएको छ। पेरिसस्थित पार्क दे प्रिन्समा भएको खेलमा घरेलु टोली सुरुदेखि नै हावी रह्यो ।

धेरै अवसर सिर्जना गरेको भए पनि कमजोर फिनिसिङ र लिभरपुलका गोलरक्षक जियोर्जी मामार्डाश्भिलीको उत्कृष्ट बचाउका कारण स्कोर धेरै फराकिलो हुन सकेन।
खेलको ११औं मिनेटमा डेजिरे डुएले गोल गर्दै पएसजीलाई अग्रता दिलाए। बक्स बाहिरबाट उनले गरेको प्रहार लिभरपुलका खेलाडी रायन ग्राभेनबेर्खको खुट्टामा लागेर दिशा परिवर्तन गर्दै गोल भएको थियो।
त्यसपछि मामार्डाश्भिलीले ख्भिचा क्वारात्स्खेलियाको कर्लिङ प्रहार रोके । केही समयपछि काउन्टर आक्रमणमा एक्लै पुगेका डुएको प्रहार पनि उनले बचाए ।
पहिलो हाफको अन्त्यतिर लिभरपुलले पनि राम्रो मौका पायो। फ्लोरियन विर्ट्जको पासमा जेरेमी फ्रिम्पोङले गरेको प्रहार भने पोस्ट नजिकैबाट बाहिरियो।
दोस्रो हाफमा पनि पिएसजीले खेल नियन्त्रणमा राख्यो। उस्मान डेम्बेलेले राम्रो मौका गुमाए पनि केही समयपछि टोलीले दोस्रो गोल थप्यो।
जाओ नेभेसको उत्कृष्ट पासमा क्वारात्स्खेलिया बक्सभित्र पुगेर गोल गरे । उनले ग्राभेनबेर्खको चुनौती पार गर्दै गोलरक्षक मामार्डाश्भिलीलाई छलेर गोल गरेका हुन्।
खेलको क्रममा डुएलाई बक्सभित्र फाउल गरेपछि रेफ्री होसे मारिया सान्चेज मार्टिनेजले पेनाल्टी दिए। तर भिएआरले निर्णय उल्ट्याएपछि पेनाल्टी रद्द भयो।
अब दोस्रो लेग अर्को साता लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ।
यसअघिको क्वाटरफाइनलमा बायर्न म्युनिखले रियल म्याड्रिडलाई २-१ ले र आर्सनलले स्पोर्टिङलाई १-० ले हराएको थियो।

