एजेन्सी – च्याम्पियन्स लिगको लिग चरणमा बुधबार एकै समयमा १८ खेल सम्पन्न भए। त्यसमा प्रिमियर लिगका क्लबहरूका लागि सुखद रह्यो।
५ इंग्लिस टोली आर्सनल, लिभरपुल, टोटनहम, चेल्सी, म्यानचेस्टर सिटी अंकतालिकाको शीर्ष ८ मा पर्दै सिधै अन्तिम १६ मा स्थान सुरक्षित गरे। उनीहरूसँगै बायर्न म्युनिख, बार्सिलोना र स्पोर्टिङ सिपी पनि नकआउट चरणमा सिधै पुगेका छन्।
रियल मड्रिडको हारपछि टोली प्ले–अफ चरणमा झर्यो। उता जोसे मोरिन्होको बेन्फिका भने गोलकिपर अनातोली ट्रुबिनको अन्तिम समयमा आएको नाटकीय गोलको सहारामा रियललाई ४-२ ले हराउँदै प्ले–अफमा छिर्न सफल भयो।
पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युकासलबीचको बराबरीले दुवै टोली पनि प्ले–अफ चरणमा पुगेका छन्। अंक तालिकाको शीर्ष ८ टोली सिधै नकआउट चरणमा पुग्दा नवौं देखि २४ टोलीले अघिल्लो चरण पुग्नका लागि प्ले अफ खेल्नेछन्। २५ देखि ३६ औं स्थानमा रहेका टोली च्याम्पियन्स लिगबाट बाहिरिएका छन्।
मार्सेइय र नापोली भने प्रतियोगिताबाट बाहिरिएका ठूला नाम हुन्। प्ले–अफ चरणको ड्र शुक्रबार बिहान हुनेछ।
साविक विजेता पिएसजीले प्ले अफ खेल्नुपर्ने
पिएसजी र न्युक्यासल युनाइटेड दुवै च्याम्पियन्स लिगको अन्तिम १६ मा सिधै पुग्न असफल भएका छन्।
पार्क दे प्रिन्समा भएको रोमाञ्चक खेल १–१ को बराबरीमा सकिएपछि दुवै टोली प्ले–अफ चरणमा पुगेका हुन्।

अन्तिम खेलअघि दुवै टोली शीर्ष आठभित्र थिए र जित निकालेमा सिधै नकआउट चरणमा पुग्ने अवस्था थियो। तर बराबरीपछि पिएसजी ११औँ र न्युक्यासल १२औँ स्थानमा सीमित भए।
खेलको सुरुआतमै पिएसजीले अग्रता लिएको थियो। आठौँ मिनेटमा भितिन्हाले उत्कृष्ट गोल गरे। तर पहिलो हाफको अन्त्यतिर जो विलकले हेडमार्फत बराबरी गोल फर्काए।
यसअघि खेल सुरु भएको ४६ सेकेन्डमै न्युक्यासलका लुईस माइलीको ह्यान्डपछि पिएसजीले पेनाल्टी पाएको थियो। तर गोलकिपर निक पोपले उस्मान डेम्बेलेको प्रहार शानदार रूपमा रोके।
पहिलो हाफपछि खेल निकै प्रतिस्पर्धात्मक बन्यो। दुवै टोलीले गोलका अवसर बनाए। न्युक्यासलले जित निकाल्न सक्ने मौका पनि पायो। तर वैकल्पिक खेलाडी हार्भी बार्न्सले पाएको सुनौलो अवसर खेर फाल्दा खेल बराबरीमै टुंगियो।
रियललाई हराउँदै बेन्फिका प्ले अफमा
रियल च्याम्पियन्स लिगको अन्तिम १६ मा सिधै पुग्न सकेन। बेन्फिकाले अन्तिम समयमा नाटकीय गोल गर्दै ४-२ को जित निकालेपछि रियललाई प्ले–अफ खेल्नुपर्ने भएको हो।

खेलको इन्जुरी समयको आठौं मिनेटमा बेन्फिकाका गोलकिपर अनातोली ट्रुबिनले फ्रिकिकमा हेड गर्दै गोल गरेपछि रंगशाला उत्साहले भरियो। यही गोलले बेन्फिकालाई नकआउट चरणको प्ले–अफमा पुर्यायो।
रियलले खेलको सुरुआत राम्रो गरे पनि पछि दबाबमा पर्यो। ३०औँ मिनेटमा किलियन एमबाप्पेले हेडमार्फत गोल गर्दै रियललाई अघि बढाए।
तर बेन्फिकाका लागि ३६ औं मिनेटमा एन्ड्रियास शेल्डेरुप बराबरी गोल फर्काए।पहिलो हाफको अन्त्यतिर भान्गेलिस पाभ्लिडिसको पेनाल्टी गोलमा बेन्फिलाले अग्रता बनायो।
५४ औं मिनेटमा शेल्डेरुप बेन्फिकाका लागि अर्को गोल गरे । एमबाप्पेले ५८ औँ मिनेटमा फेरि गोल फर्काए पनि रियलले खेल नियन्त्रणमा लिन सकेन।
अन्तिम समयमा रियलका दुई खेलाडी रातो कार्ड पाएपछि टोली नौ खेलाडीमा सीमित भयो। दोहोरो पहेँलो कार्ड पाउँदै राउल असेन्सियोले इन्जुरी समयको दोस्रो र रोड्रिगोले सातौं स्थान मिनेटमा मैदान छाडेका थिए। त्ययसको फाइदा उठाउँदै ट्रुबिनले निर्णायक गोल गरे र बेन्फिकालाई जित दिलाए।



