वेस्ट इन्डिजका चन्द्रपाउल जनकपुरको मुख्य प्रशिक्षक नियुक्त


नेपाल प्रिमियर लिग (एनपिएल) को डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका लिजेन्ड ब्याटर शिवनारायण चन्द्रपाउललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

चन्द्रपाउललाई प्रशिक्षक नियुक्त गर्नुका साथै उनीसँग दीर्घकालीन सम्झौता भएको जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दीर्घकालीन सम्झौताको बारेमा भने थप खुलाइएको छैन। खतिवडाले चन्द्रपाउलसँगको यो सम्झौताले टिमलाई थप सशक्त बनाउने विश्वास लिएका छन्।‌

एनपिएलको पहिलो संस्करणमा‌ टोलीको प्रशिक्षक पुबुदु दासानायकेले थिए। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक दासानायके अहिले अमेरिकाका प्रमुख प्रशिक्षक हुन्। क्लबले दासानायकेको योगदानको लागि धन्यवाद दिएको छ।

चन्द्रपाउलले वेस्ट इन्डिजका लागि १ सय ६४ टेस्ट र २ सय ६८ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा उनले २० हजारभन्दा बढी रन जोडेका छन्।

उनीसँग क्यारेबियन प्रिमियर लिग (सिपिएल), भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग, च्याम्पियन्स लिग टि ट्वान्टी र इन्डियन प्रिमियर लिग‌ अनुभव रहेको छ।

सन् २०२२ मा चन्द्रपाउल सिपिएलको फ्रेन्चाइज टोली जमैका तलवाहजका मुख्य प्रशिक्षकको भुमिकामा थिए। सोही वर्ष उनले अमेरिकाको महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी पनि सम्हालेका थिए।

सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर एनपिएलको पहिलो संस्करणको जितेको थियो। दोस्रो संस्करण मंसिर १ गते सुरु हुनेछ।


प्रकाशित मिति : २०८२ आश्विन २८, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार