सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको अनुगमन


सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको अनुगमन गरेका छन्।  अनुगमनपछि मन्त्री घिसिङले काम अन्तिम चरणमा पुगेको बताउँदै अबको एक महिनाभित्र निर्माण सकिने जानकारी ठेकेदार कम्पनीले दिएको बताए।

‘पहिलो फेजको काम अन्तिम चरणमा पुगेको छ। ६ वटा फ्लडलाइट एक महिनाभित्र राखिसक्ने भनेर प्रतिबद्धता गर्नुभएको छ,’ मन्त्री घिसिङले भने, ‘प्यारापिटको काम लगभग सकिएको छ। प्यारापिट एक हप्ता भित्रमै हस्तान्तरण गर्ने भन्नुभएको छ।’

उनले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणअघि मैदानको सबै काम सक्ने बताए। दोस्रो सिजनको एनपिएल मंसिर दोस्रो सातादेखि हुँदैछ।

‘एनपिएलको अगाडि यो काम सम्पन्न हुनेछ। अहिले दश हजार दर्शकलाई अटाउन सक्ने प्यारापिट बनेको छ। यो हाम्रो एकदमै महत्वपूर्ण रंगशाला हो। त्यसैले अब दोस्रो फेजको काम पटक एकैपटक गर्नुपर्छ भनेर हामीले भनेका छौं। सबै काम सक्दा ३० हजार दर्शक अट्ने रंगशाला बन्छ। नेपालले अन्तर्राष्ट्रिय स्तरमा क्रिकेटमा ख्याती कमाएको छ। त्यसैले यसलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्छ। यसलाई अगाडि बढाउन बजेटका लागि अर्थ मन्त्रालयले पनि सहयोग गर्छ। अब दोस्रो चरणको पनि हामी चाँडै नै टेन्डर प्रक्रियामा जान्छौं,’ मन्त्री घिसिङले भने।

अहिले मैदानको वरिपरि ६ वटा फ्लडलाइट जडान कार्य भइरहेको छ।

यस्तै, मैदानमा चोभार एन्डतर्फ प्यारापिट निर्माणको काम सकिएको छ। चोभार एन्डतर्फको क्यामेरा बक्सको दायाँ र बायाँमा भागमा निर्माण भएको प्यारापिटमा अहिले सिट हाल्ने काम पनि सकिएको छ। प्यारापिट १० हजार सिट क्षमताको छ।

यो रंगशालाको काम सुरूमा वैशाख २४ र त्यसपछि असार मसान्तमा सकिने योजना थियो। तर अब सबै काम सक्न अझै एक महिना लाग्ने भएको हो।


प्रकाशित मिति : २०८२ आश्विन २३, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार