पार्टीका शीर्ष नेताहरुलाई पद छाड्नुपर्ने दबाब


काठमाडौँ, असोज ८ गते । नेपाली कांग्रेसका नेताहरूले विशेष महाधिवेशन माग राख्दै हस्ताक्षर अभियान प्रारम्भ गरेका छन् । कांग्रेस नेताहरूले हस्ताक्षर अभियान प्रारम्भ गर्दै इतिहासको संवेदनशील घडीमा पार्टीलाई वर्तमान दुरावस्थाबाट निकाल्न विशेष महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका हुन् ।

कांग्रेसका १०९ जना नेताले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीलाई समयसापेक्ष, लोकप्रिय, प्रभावकारी र सुदृढ तुल्याउन आवश्यक रहेको जिम्मेवारीबोध गरी पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन प्रक्रिया थाल्न आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, “पार्टीलाई यथास्थितिमा राख्ने कि अग्रगमनतर्फ लैजाने आजको मूल प्रश्न यही हो । विषम परिस्थिति र सङ्कटबाट नेपाली कांग्रेसलाई मुक्त गर्न वर्तमान केन्द्रीय समिति मात्र होइन, हाम्रो पनि उत्तिकै दायित्व हो ।”

विज्ञप्तिमा पार्टीको अवस्था र नेतृत्वमाथि उठेका विभिन्न प्रश्न निरूपण गर्दै आगामी बाटो तय गर्न विशेष महाधिवेशन आवश्यकता महसुस गरिएको प्रस्ट पारिएको छ । विज्ञप्तिमा भनिएको छ, “वर्तमान परिस्थितिको गम्भीरता बोध गरी केन्द्रीय समितिको क्षेत्राधिकारसमेत रहेको विशेष महाधिवेशन बोलाउने दायित्वलाई केन्द्रीय समितिले मनन गर्ने सम्भावना क्षीण बन्दै गएकाले हामी महाधिवेशन प्रतिनिधिमा रहेको वैधानिक अधिकार उपयोग गर्दै तयारीमा लाग्ने सङ्कल्प लिएका छौँ ।”

विज्ञप्तिमार्फत नेताहरूले भदौ २३ र २४ गते जेनजी पुस्ताको आह्वानमा भएको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै घटनाको छानबिन गरी दोषीलाई कारबाही माग पनि गरिएको छ ।

विज्ञप्तिमा नेताहरू कोसी प्रदेशमा सभापतिमा पराजित गुरुराज घिमिरे, युवा नेता देवराज चालिसे, तारानाथ दाहाल, पूर्वसांसद रीता शाही, बिमला नेपाली, रुद्र कन्दङ्वालगायतले हस्ताक्षर गर्नुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूलाई कार्यवहाक अध्यक्ष दिएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव गर्नुभएको छ । यसअघि बसेको माओवादी पदाधिकारी बैठकमा उहाँले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व छाडेर कार्यवहाक अध्यक्ष तोक्नुपर्ने प्रस्ताव गर्नुभएको हो ।

उपमहासचिव गिरिराजमणि पोखरेलका अनुसार पदाधिकारी बैठकमा जेनजी विद्रोह र वर्तमान अवस्थाबारे लामो व्याख्या गर्दै श्रेष्ठले उक्त विद्रोहको शिक्षालाई ध्यान दिएर अध्यक्षले पनि यसबिचमा विभिन्न भिडियोमार्फत आफू नयाँ ढङ्गले जान तयार भएको बताउनुभएको उल्लेख गर्दै अध्यक्षकै सहमतिमा प्रणालीगत ढङ्गले आफूलाई कार्यवहाकको जिम्मेवारी दिनुपर्ने बताउनुभएको थियो ।

जेनजी आन्दोलनको ‘साइड इफेक्ट’ झैँ देखिने गरी केही वर्षअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पनि नेतृत्व परिवर्तनको आवाज उठेको छ । अन्य राजनीतिक दललाई पुराना भन्दै आफूलाई ‘नयाँ’ का रूपमा परिभाषित गरिरहनुभएका रास्वपा सभापतिलाई उहाँभन्दा नयाँ पुस्ताको नेताले नेतृत्व छाड्न दबाब दिएका छन् । लामिछानेमाथि नेतृत्व छाड्न चौतर्फी दबाब आए पनि मङ्गलबार सम्पन्न केन्द्रीय कमिटी बैठकले भने यसबारे कुनै निर्णय गरेन ।

रास्वपा सुदूरपश्चिम प्रदेश समितिले केन्द्रीय समितिलाई पत्रै लेखेर सभापतिले नेतृत्व छाड्नुपर्ने सुझाव दिएको विवरण सार्वजनिक भएको छ । सभापति लामिछानेमाथि अदालतमा मुद्दा रहेको र पुर्पक्षका लागि कारागारमा रहेको अवस्थामा सभापति कायम रहँदा पार्टीको आन्तरिक शुद्धता र सार्वजनिक छविमा गम्भीर असर परिरहेको तर्क गरिएको छ । केन्द्रीय समिति बैठकमा लामिछानेको कारागारबाट भएको रिहाइ प्रव्रिmया र त्यसपछिको सार्वजनिक व्यवहारमाथि प्रश्न उठेको थियो ।


प्रकाशित मिति : २०८२ आश्विन ८, बुधबार गते

धेरै पढिएको

ताजा समाचार