काठमाण्डु– नेपाली कांग्रेस बागमती संसदीय दलको नेता पदका लागि इन्द्रबहादुर बानियाँ र मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार अविश्वासको प्रस्ताव पारित गर्दै दलको नेताबाट हटाएका लामाले पुनः बुधबार निर्वाचन प्रक्रियामा सहभागी भएका हुन्।
मुख्यमन्त्री लामाले सांसद तीर्थ लामाको प्रस्ताव तथा अर्थमन्त्रीसमेत रहेका कुन्दन काफ्लेको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।
आफ्नो विपक्षमा रहेका सांसदहरूलाई आफूतर्फ तान्ने प्रयास गरिरहेका मुख्यमन्त्री लामाले अन्ततः आफै संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्ने भएका हुन् ।
यसअघि उनीविरुद्ध अविश्वास प्रस्तावको नेतृत्वकर्ता इन्द्रबहादुर बानियाँले कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बन्न उम्मेदवारी दर्ता गराइसकेका छन्।
कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताको निर्वाचन अहिले १० बजेदेखि सुरु भएको छ । १० देखि ११ बजेसम्म नामावली प्रकाशन गरेपछि ११ः३० देखि १२ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ ।
यस्तै मुख्यमन्त्री लामाले नेपाली कांग्रेसका ५ जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका स्थानमा मन्त्री नियुक्ति गर्ने तयारी गरेका छन् ।

