शिक्षक आन्दोलनबीच परीक्षा सञ्चालनको तयारी : सरकार वैकल्पिक उपायमा, बोर्डले पनि नहट्ने संकेत


काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने अडान कायम राखेपछि सरकारले कक्षा १२ को परीक्षा वैकल्पिक उपायबाट सञ्चालन गर्ने तयारी गरेको छ।

नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० देखि आन्दोलनमा रहेका शिक्षकहरूले मंगलबार पनि माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। माग सम्बोधन नहुँदै परीक्षा मिति नजिकिँदै जाँदा सरकारले निजामती कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ।

शिक्षामन्त्री विद्या भट्टराईले प्रधानमन्त्रीसँग राजीनामा बुझाएसँगै शिक्षा मन्त्रालय नेतृत्वविहीन बनेको छ। यस्तो अवस्थामा राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ देखि नै परीक्षा सञ्चालन गरिने स्पष्ट पार्दै जिल्ला परीक्षा समन्वय समितिलाई सक्रिय बनाउन आग्रह गरेको छ।

परीक्षाको वातावरण बनाउन आन्दोलनरत शिक्षक, अभिभावक, समन्वय समिति र विद्यार्थीहरूसँग पुनः संवाद गर्ने निर्णय भएको बोर्ड अध्यक्ष महाश्रम शर्माले बताएका छन्।

शिक्षकहरूको हड्तालका कारण देशभरका २८ हजारभन्दा बढी सामुदायिक विद्यालयहरूमा भर्ना अभियान, एसईई उत्तरपुस्तिका परीक्षणजस्ता काम प्रभावित भएका छन्।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन यथावत् रहने जनाउँदै शिक्षकहरूलाई अनुशासित ढंगले निर्णायक रुपमा आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन्।

परीक्षामा ५ लाख ५० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने अनुमान छ। परीक्षा हुने कि नहुने भन्ने अन्यौलबीच विद्यार्थी तयारीमा जुटिरहेका छन्।


प्रकाशित मिति : २०८२ बैशाख ९, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार