के हो, विशेष गरी तराई मधेस क्षेत्रमा मनाइने “जुडशीतल पर्व”?


वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा पहिलो दिन चना (बदाम), जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ । यसैगरी दोस्रो दिन (वैशाख २ गते) घरपरिवारका ज्येष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्दछन् ।

मिथिलामा घरका कूलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये जुडशीतल पर्दछ । यस पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवता (कूलदेवता)लाई चढाउने परम्परा छ । बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ । त्यसैगरी गुणकारी सोहिजन (मुन्गा)को तरकारी, चनाको पीठोको बेसनबाट ‘बरी’ पकाएर ‘कढीबरी’ (बरीलाई मथिएको दहीमा पकाएर बनाइने परिकार), काँचो केरा, लौका, परवलसहितका तरुवा पर्वका खास परिकार मानिन्छन् ।

नयाँ वर्र्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा सुपाच्य र शरीरलाई स्वस्थ्य राख्ने चना (बदाम)को सातु, दाल, सोहिजनको तरकारी, बदामको पीठोबाट बनाइएको बरी र दही मथेर कढी पकाएर खाइने परम्परा चलेको मैथिल लोकसंस्कृतिका ज्ञाता पूर्वप्रशासक तथा साहित्यकार जलेश्वरको बखरी बस्तीका बासिन्दा ८७ वर्षीय महेश्वर राय बताउनुहुन्छ ।

सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिलहरूआज मध्याह्न साथीसङ्गीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्ने तयारीमा छन् । जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ ।

मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ । खासमा नयाँ वर्ष प्रारम्भसँगै यो वर्षभरि खेतीपातीका लागि अनुकूल समय रहोस् भन्ने पर्वको मुख्य सन्देश रहेको बलवा–१० धमौराका ७० वर्षीय कामेश्वर झा बताउनुहुन्छ ।

जुडशीतल पर्व विशेष गरी तराई मधेस क्षेत्रमा मनाइने परम्परागत पर्व हो। यो नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते वा त्यस वरपरका दिनहरूमा मनाइन्छ। यस पर्वमा घरको आँगन, टोल, गली तथा रुखबिरुवा लगायत स्थानमा पानी छ्याप्ने, चिसो खानेकुरा खाने तथा एकअर्कालाई आशीर्वाद दिने चलन रहेको छ।

जुडशीतललाई ‘थकाई मेटाउने पर्व’ वा ‘चिसोपना बाँड्ने परम्परा’ को रूपमा लिइन्छ। यस दिन जेष्ठ नागरिक तथा अभिभावकले सन्तानलाई टाउकोमा पानी छर्केर दीर्घायु, शान्ति र समृद्धिको कामना गर्छन्। साथै, नयाँ वर्षको सुरुवातमा सफा–सुग्घर वातावरण बनाउने उद्देश्यले घर वरिपरि सफाइ गर्ने परम्परासमेत रहेको छ।

प्रदेश सरकारले धार्मिक र सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै यो दिनलाई सार्वजनिक बिदाको रूपमा घोषणा गरेको हो। यस बिदाले मधेसी समुदायको सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदैमिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै | Online News Portal from Nepal in Nepali  Language


प्रकाशित मिति : २०८२ बैशाख २, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार