टि ट्वान्टी क्रिकेटको इतिहासमा एकै इनिङमा सर्वाधिक रन बरोडा क्रिकेट टिमले बनाएको छ ।
बरोडाले बिहीवार सिक्किमको टोलीविरुद्ध पुरुष टि ट्वान्टी क्रिकेटमा सर्वाधिक योगफल बनाउने कीर्तिमान बनाएको हो । उसले गत अक्टोबरमा नैरोबीमा गाम्बियाविरुद्ध जिम्बाब्वेले बनाएको ३ सय ४४ रनको कीर्तिमान तोडेको हो ।
बरोडाले आफ्नो इनिङमा ३७ छक्का प्रहार गर्दै अर्को टि ट्वान्टी कीर्तिमान तोडेको थियो । जिम्बाब्वेले गाम्बियाविरुद्धको खेलमा पनि एक इनिङमा सर्वाधिक २७ छक्का प्रहार गर्ने कीर्तिमान बनाएको थियो ।
भारतमा जारी सैयद मुस्ताक अलि क्रिकेटमा बरोडा क्रिकेट टिमले एकै इनिङमा ३ सय ४९ रन बनाएको हो । बरोडाका भानु पानियाले ५१ बलमा ५ चौका र १५ छक्कासहित १३४ रनको अविजित इनिङ खेले । विष्णु शोलांकीले १६ बलमा ६ छक्कासहित ५० रन जोडेका थिए ।
बरोडाले यस खेलमा २ सय ६३ रनको जित हात पारेको छ । ३ सय ५० रनको लक्ष्य पछ्याएको सिक्किमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो । बलिङतर्फ निनाद राठवा र महेश पिठियाले समान २ विकेट लिए ।
रणजी ट्रफीको समूह ‘ए’ को शीर्ष स्थानमा रहेको बडोदाले ५ खेलमा लगातार ४ जित हात पारेको छ । जारी सैयद मुश्ताक अली ट्रफीमा उसले हालसम्म ७ मध्ये ६ खेल जितिसकेको छ ।

