यो सिजन अपराजित रहेको जर्मन क्लब बायर लेभरकुसेनलाई स्तब्ध पार्दै इटालियन क्लब एटलान्टा युरोपा लिगको च्याम्पियन बनेको छ ।
डब्लिनमा बुधबार राति भएको फाइनलमा बायर लिभरकुसेनलाई ३–० ले पराजित गर्दै एटलान्टा च्याम्पियन बनेको हो । अभिभा स्टेडियम डब्लिन आयरल्यान्डमा एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक पूरा गरे । उनले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल थपे ।
खेलको १२औं मिनेटमा लोकमनले गोल गर्दै एटलान्टालाई अग्रता दिलाए । उनले डेभिड जापाकोस्टाको पासलाई सदुपयोग गरे । २६औं मिनेटमा लोकमनले व्यक्तिगत दोस्रो गोल गर्दा एटलान्टा पहिलो हाफमा २–० ले अघि बढ्यो ।
७६औं मिनेटमा लोकमनले ह्याट्रिक पूरा गर्दै एटलान्टालाई च्याम्पियन बनाए । उनले यसपल्ट जियानलुका स्कामाकाको पासमा बक्सभित्रबाट सानदार फिनिस गरे ।
पहिलोपल्ट फाइनल पुगेको अवसरमै एटलान्टाले उपाधि चुम्न सफल भएको हो । यता, पहिलोपल्ट नै युरोपा लिगको फाइनल खेलेको लिभरकुसन भने उपाधिबाट वञ्चित बन्यो ।

एटलान्टासँगको हारसँगै जर्मन च्याम्पियन लिभरकुसेनको अपराजित यात्रामा पूर्णविराम लागेको छ । लिभरकुसेन यो सिजन ५१औं खेलसम्म अपराजित रहेको थियो । २७ मे २०२३ को जर्मन बुन्डेसलिगामा भिएफएल बोचुमसँग ३–० ले पराजित भएयता लिभरकुसेन अपराजित थियो । जसमा ४२ खेलमा जित र ९ खेलमा बराबरीको नतिजा छ ।

यो सिजन लिभरकुसेनले युरोपको शीर्ष ५ लिगमा सबैभन्दा लामोसमय सम्म अपराजित रहने युभेन्टसको ४३ खेलको कीर्तिमान तोडेको थियो ।
यस्तै ९ मे २०२४ मा, लिभरकुसेनले युरोपा लिगमा रोमासँग २–२ गोलको बराबरी खेलेपछि युरोपेली फुटबल इतिहासमा (युईएफए क्लब प्रतियोगिताहरू सुरु भएदेखि) हारबिनाकै सबैभन्दा लामो समयसम्म खेल खेल्ने नयाँ कीर्तिमान कायम गरेको थियो ।
१९६३ र १९६५ बीचमा बेन्फिकाले राखेको ४८ खेलको अघिल्लो कीर्तिमान तोडे । लिभरकुसेनले त्यसपछि लिग सिजन अपराजित रहँदै सकाए । लिभरकुसेन बुन्डेसलिगामा अपराजित रहँदै च्याम्पियन बन्ने पहिलो क्लब बन्यो ।

