केजरीवालले पाए जमानत, चुनाव सकिएको भोलिपल्टै आत्मसमर्पण गर्नुपर्ने


नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल आम-निर्वाचन सम्मका लागि अन्तरिम जमानतमा छुट्ने भएका छन्।

भारतको सर्वोच्च अदालतले शुक्रबार केजरीवाललाई जुन १ सम्मका लागि जमानतमा छाड्न आदेश दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

न्यायाधीश सञ्जिव खन्ना र दिपान्कर दत्तको इजलासले उक्त आदेश दिएका हुन्।

अहिले भारतमा जारी लोक सभा निर्वाचनका लागि उनलाई छाड्न आदेश दिएको हो।

यद्यपि सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले निर्वाचनका लागि छाड्‍न नहुने तर्क गरेको थियो। दिल्लीमा मे २५ तारिखमा निर्वाचन हुँदैछ।

सर्वोच्चको आदेश अनुसार चुनाव सकिएलगत्तै ‍जुन २ तारिखमा उनले आत्मसमर्पण गर्नुपर्ने हुन्छ। निर्वाचनको मतगणना र मतपरिणाम आउँदा भने उनी जेलमै हुनेछन्।

अहिले जमानतमा छुटेपनि विभिन्न शर्तहरू राखिएका छन्।

केजरीवाललाई मदिरा बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको अभियोगमा इडीले गत मार्च २१ तारिखमा पक्राउ गरेको थियो।

उनलाई पक्राउ गरी तिहाड जेलमा राखिएको छ।


प्रकाशित मिति : २०८१ बैशाख २८, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार