प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ।
इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ।
मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी भएको थियो। अब सेमिफाइनलमा एटलान्टाले फ्रेन्च क्लब मार्सेलीको सामना गर्नेछ ।

मार्सेलीले पोर्चुगिज क्लब बेन्फिकालाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै अन्तिम चारमा पुगेको हो । दोस्रो लेगमा मार्सेलीले पेमी मुमाबाग्नाको गोलमा १-० को जित निकालेपछि समग्रमा २-२ को बराबरी भएको थियो। थप समयमा नतिजा नआएपछि पेनाल्टी सुटआउटमा मार्सेली भाग्यशाली रह्यो।
युरोपा लिगको सेमिफाइनल समीकरण पूरा भएको छ।
बिहीबार जर्मन टोली बायर लेभरकुसन र इटालियन क्लब रोमा पनि सेमिफाइनल पुगेका छन्।
वेष्टह्याम युनाइटेडसँगको दोस्रो लेगमा १-१ को बराबरी भएपनि समग्रमा ३-१ ले नतिजासहित बायर लिभरकुसेन अघिल्लो चरणमा पुगेको हो ।
एसी मिलानलाई दोस्रो लेगमा २-१ ले हराएको रोमा समग्रमा ३-१ ले नतिजाका साथ अघि बढेको हो । फाइनल प्रवेशका लागि बायर लेभरकुसन र रोमाबीच प्रतिस्पर्धा हुनेछ।


