वैशाख ०६ २०८१ ,आशिष लामिछाने : एसीसी प्रिमियर कपको उपाधि रक्षा गर्ने क्रममा नेपालले फाइनल प्रवेशका लागि चिर प्रतिद्वन्दी युएईको सामना गर्ने भएको छ । ओमानले कुवेत विरुद्ध जित निकालेपछि युएई समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

जितसँगै ओमान ४ खेलमा ८ अंक सहित समूह ‘बी को विजेता बनेको छ । युएई ६ अंक सहित दोस्रो रहँदै सेमिफाइनलमा पुगेको छ ।
दोस्रो रहेको युएईले समूह ‘ए’ को विजेता नेपालको सामना गर्ने पक्का भएको हो । गत संस्करणको फाइनलमा भिडेका यी दुई टोली यसपटक भने सेमिफाइनलमा नै भिड्न लागेका हुन् ।
यस्तै ओमानले भने हङकङको सामना गर्नेछ । ओमान समूह ‘बी’ विजेता र हङकङ समूह ‘ए’ को उपविजेता रहेको थियो ।
नेपाल र युएई बीचको पहिलो सेमिफाइनल शुक्रबार नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ । ओमान र हङकङ बीचको खेल सोही दिन दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

समूह ‘ए’ मा नेपालले ४ खेलमा ८ अंक ल्याउन सफल रह्यो । हङकङको ४ खेलमा ४ अंक रह्यो । कतारको पनि ४ अंक रहेपनि नेट रनरेटका आधारमा तेस्रो भयो । हङकङको नेट रनरेट -०.१२८८ र कतारको -०.४५३ रह्यो । साउदी भने २ अंक सहित चौथो स्थानमा सिमित भयो । मलेसिया २ अंकसहित पुछारमा रह्यो ।
समूह ‘बी’ मा कुवेत ४ अंक सहित तेस्रो रह्यो भने बहराइनले २ र कम्बोडियाले विना अंक प्रतियोगिता अन्त्य गर्यो।

