युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पिएसजी) विरुद्ध स्पेनिस टोली बार्सिलोनाले अग्रता लिएको छ । पिएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा बुधबार भएको खेलमा बार्सिलोनाले ३-२ को जित हासिल गरेको हो ।
खेलको ३७औं मिनेटमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । लामिन यमालको क्रस पिएसजी गोलरक्षक जियानलुइजी डोन्नारुमाले नभेटाएपछि बनेको अवसरमा राफिन्हाले गोल गर्दै खेलमा बार्सिलोनालाई अग्रता दिलाए ।
तर दोस्रो हाफको सुरुवाती समयमा नै घरेलु टोली खेलमा फर्कियो । ४८औं मिनेटमा बार्सिलोनाका पूर्व खेलाडी उसमान डेम्बेलेले गोल गर्दै खेल बराबरीमा ल्याए । किलियन एम्बाप्पेको क्रस क्लियर भएपछि उनले बक्स भित्रबाट शक्तिशाली प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीको ३ मिनेट पछि फाबियान रुइजको पासमा भिटिन्हाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए । तर बार्सिलोना खेलमा फर्कन सफल भयो । ६२औं मिनेटमा पेड्रीको सुन्दर पासमा राफिन्हाले नै गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
७७औं मिनेटमा मैदान भित्रिएको केही मिनेटमा नै आन्द्रेयास क्रिस्टियनसनले इल्काए गुण्डोगानको कर्नरमा हेडरमार्फत गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाए ।
क्वाटरफाइनलको अर्को लेग अर्को हप्ता हुनेछ । सोही समयमा सकिएको अर्को क्वाटरफाइनलको पहिलो लेगमा एट्लेटिको म्याड्रिडले बोरसिया डर्टमुन्डलाई २-१ ले हराएको छ ।
युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड विजयी भएको छ।
एट्लेटिकोले बुधबार भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डलाई २-१ ले पराजित गरेको हो।
एट्लेटिकोले घरेलु मैदानमा चौथो मिनेटमा नै अग्रता लिएको थियो। रोड्रिगो डि पौलको गोलमा एट्लेटिको अघि लागेलए थियो।

३२ औं मिनेटमा सामुइल लिनोले गोल गरेपछि एट्लेटिको पहिलो हाफमै २-० अगाडि रहेको थियो। खेल सकिन ९ मिनेट बाँकी रहँदा सेबास्टियन हलरले गोल गरेपनि डर्टमन्डको हार टरेन ।
दोस्रो लेग अर्को साता हुनेछ । अर्को क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेनलाई ३-२ ले हराएको थियो।

