सप्तरीको रूपनगरमा भर्खरै सञ्चालनमा आएको ‘तिलगंगा कञ्चनरूप सर्जिकल आँखा केन्द्र’ ले रूपनगर नन्दराज संग्रौला क्याम्पसका विद्यार्थीहरूको नि:शुल्क आँखा जाँच गरेको छ ।
आँखा केन्द्रका इञ्चार्ज, दृष्टि विशेषज्ञ डा. असिम छुस्यावागले आज २५ जना विद्यार्थीको आँखा परीक्षण गरे । अत्याधुनिक उपकरणले सुसज्जित केन्द्रमा आज आँखा जाँच गराएकामध्ये अधिकांश विद्यार्थीको आँखा स्वस्थ्य रहेको डा.असिमले जानकारी दिए ।
क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलको अगुवाइमा ‘लाइन लागेर’ आँखा देखाउन गएका दुई दर्जन बढी विद्यार्थीमध्ये एक जनालाई चाहिँ थप जटिल परीक्षण गर्न तिनगंगा आँखा प्रतिष्ठान काठमाडौं जाने सुझाव डा. असिमले दिए।
तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा कृति सामुदायिक स्वास्थ्य केन्द्र तथा कञ्चनरूप नगरपालिकासँगको सहकार्यमा स्थापित आँखा केन्द्रले केही दिनअघि मात्र सेवा सुरु गरेको हो ।
कृति सामुदायिक स्वास्थ्य केन्द्रका संस्थापक, वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राध्यापक डा. रोहित पोखरेलको पहलमा यो स्वास्थ्य केन्द्रले रूपनगर क्याम्पसका विद्यार्थीहरूलाई स्वास्थ्य परामर्श सेवा नि:शुल्क दिँदै आएको छ ।
स्वास्थ्य उपचारमा सामान्य सुविधा मात्र रहेको रूपनगर गाउँमा स्थापित आँखा केन्द्रले यो फागुन महिनाभरी आँखा परीक्षण तथा सामान्य औषधि नि:शुल्क उपलब्ध गराउने जानकारी डा. असिमले दिए । तिलगंगा आँखा केन्द्रले सेवा दिन सुरू गरेको केही दिनमै अपेक्षा गरिएकोभन्दा धेरै जना आँखा परीक्षण गराउन आएको जानकारी केन्द्रका आँखा स्वास्थ्य कार्यकर्ता अनिल साउदले दिए ।
साउदसँग रहेको तथ्यांक अनुसार फागुन २३ गते एकै दिनमा रूपनगर क्याम्पसका २५ जना विद्यार्थी र अन्यसहित ३३ जनाको आँखा जाँच गरिएको छ ।

