कोशी प्रदेश सरकारद्वारा १४ स्वास्थ्य स्वयंसेविका सम्मानित


काठमाडौँ – प्रजातन्त्र दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले १४ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ।

सोमबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशका १४ जिल्लाबाट एक–एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेका हुन्। जनस्वास्थ्यका लागि खटिएका स्वास्थ्य स्वयंसेविकाहरूको खुट्टामा आफैले जुत्ता लगाइदिएर मुख्यमन्त्री कार्कीले सम्मान गरे।

स्वयंसेविकालाई प्रदेशको स्वास्थ्य मन्त्रालय अंकित चाँदीको सिक्का, खादा, सम्मानपत्र र नगद १५ हजार रुपैयाँ प्रदान गरिएको थियो। स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेपछि बोल्दै मुख्यमन्त्री कार्कीले आफ्ना सन्तानको हेरचाह छोडेर अरूको सेवा गर्न दौडनेहरूलाई सम्मान गर्न पाउँदा गौरव महशुस भएको बताए।

मुख्यमन्त्री कार्कीले भने, ‘यो प्रदेशका बच्चा, आमा सुरक्षित हुनेछन्। तपाईहंरुको भूमिकामा सुरक्षित सुत्केरी हुन्छन्। बच्चा सुरक्षित हुन्छन्। हामीले तपाईंहरुलाई यो प्रदेशको बच्चा जिम्मा लगाउन खोजेको हो। तपाईहरुको हातमा प्रदेशको भविष्य छ। त्यसैले भविष्य सुन्दर बनाउने आमाहरुलाई सम्मान गरेको हो।’

सम्मानित महिला स्वास्थ्य स्वंयसेविकामध्येबाट इलाम चुलाचुली गाँउपालिका– ४ की ईश्वरा निरौलाले प्रदेश सरकारले गरेको सम्मानले मुलुकभरका स्वास्थ्य स्वंयसेवीको शीर उच्च भएको बताइन्।

उनले भनिन्, ‘हामी स्वास्थ्य क्षेत्रमा कार्य गर्नेहरुले विभिन्न बहानामा सरकारसँग रकम मागेनौँ। खर्च मागेनौँ । तर, काम गर्दैगर्दा आज सरकारले सम्मान गरेको छ। भोको पेटमा काम गर्‍यौँ, सायद त्यसको परिणाम सरकारले आज हामीलाई सम्झेको छ।’ प्रदेश सरकारले उनीहरुलाई दोसल्लासहित नगद १५ हजार, ब्याग, टर्च र चाँदीको सिक्काले सम्मान गरिएको थियो।

प्रदेश सरकारले ताप्लेजुङबाट पम्फा राई, मोरङबाट सोनीकुमारी चौधरी, झापाबाट दयावती राजवंशी, सुनसरीबाट तिलमाया खड्का, उदयपुरबाट दिलमाया मगर, ओखलढुंगाबाट निरकुमारी राणा, संखुवासभाबाट छिरिजम्बा भोटे, खोटाङबाट पुण्यकुमारी पौडेल, पाँचथरबाट यशोदा ढकाल, तेह्रथुमबाट गोमा भट्टराई, भोजपुरबाट सीता तामाङ, इलामबाट ईश्वरा निरौला, सोलुखुम्बुबाट ल्हेमी शेर्पा र धनकुटाबाट खड्ककुमारी विश्वकर्मालाई सम्मान गरेको हो।

कोशी प्रदेशमा ८ हजार ७ सय ५१ जना महिला स्वास्थ्य स्वंयसेविका कार्यरत छन्।


प्रकाशित मिति : २०८० फाल्गुन ७, सोमबार गते

धेरै पढिएको

ताजा समाचार