अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूहको तेस्रो स्थानमा रहेर दोस्रो चरणमा प्रवेश गरेको हो । नेपालले ३ खेलमा २ अंक जोड्दा अफगानिस्तान भने अंकविहिन रहँदै पुछारमा रहेर विश्वकप यात्रा टुंग्यायो ।
समूह चरणमा प्रतिस्पर्धा गरेका १६ टोलीमध्य सुपर सिक्समा हरेक टोलीबाट ३-३ टोली पुग्ने प्रावधान रहेको छ । सुपर सिक्समा समूह ए र डी का टोलीले एक अर्कासँग खेल्दा समूह बी र सी का टोली पनि भिड्नेछन् ।

समूहमा पहिलो हुने टोलीले सुपर सिक्समा अर्को समूहको दोस्रो र तेस्रो सँग खेल्नेछन् । यस्तै दोस्रो हुनेले अर्को समूहको पहिलो र तेस्रो तथा तेस्रो हुने टोलीले अर्को समूहको पहिलो र दोस्रोसँग खेल्ने तालिका छ ।
यस्तोमा नेपालले अब सुपर सिक्सको समूह १ मा समूह ए को विजेता र उपविजेता सँग खेल्नेछ । समूह ए मा भारत शीर्ष २ स्थानमा रहने पक्का हुँदा बंगलादेशले पनि पछ्याउने सम्भावना रहेको छ ।
नेपालले अब ३१ जनवरीमा समूह ए को उपविजेता तथा फेब्रुअरी ३ मा समूह ए को विजेतासँग खेल्नेछ । सुपर सिक्समा समूहको अंक पनि जोडिने हुँदा नेपालले सेमिफाइनलमाको सम्भावना राख्न दुवै खेल जित्नुपर्नेछ । समूह १ र २ का शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
चौथो स्थानको अफगानिस्तानले भने अब समूह ए को चौथो टोलीसँग खेल्नेछ ।


