बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट हुने पहिलो नेपाली फिल्म बन्यो ‘शाम्बाला’


मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको छ।

विश्व प्रतिष्ठित फिल्म फेस्टिभलमा मुख्य प्रतिस्पर्धातर्फ छनोट हुने यो पहिलो नेपाली फिल्म हो। फिल्ममा हिमाली भेगकी गर्भवती महिलाले ल्हास्सामा हराएको श्रीमान खोज्दाको कथा समेटिएको छ।

फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दाल्हा, कर्मा शाक्य, लोटेन नम्लिङलगायत कलाकारको अभिनय छ।

नेपाली र टिबेटियन भाषामा बनेको फिल्म डोल्पाको ४२ सयदेखि ६ हजारको उचाइमा खिचिएको छ। फिल्मको कथा निर्देशक मीन र अविनाश विक्रम शाहले लेखेका हुन्।

यो फिल्मको बजेट ९ लाख ८० हजार युरो रहेको छ।

‘पहिले हामीले यो फिल्मको नाम चिसो वर्ष राखेका थियौं। फिल्मको स्क्रिप्ट तयार भएपछि शाम्बाला नाम सुहाउँदो हुने भएका कारण हामीले नाम परिवर्तन गरेका हौं। यो फिल्म बनाउन हामीले धेरै मिहेनत गरेका छौं। ६ वर्षमा ४४ डाफ्ट लेखेपछि यो फिल्म तयार भएको हो। अन्य कुनै फिल्म या कामको बारेमा नसोच्दा पनि हामीलाई फिल्म तयार गर्न ८ वर्ष लाग्यो,’ निर्देशक मीनले भने।

अभिनेत्री थिन्ले ल्हामो र अभिनेता सोनम तोप्देनले फिल्ममा काम गर्न पाउँदा खुशी व्यक्त गरे।


प्रकाशित मिति : २०८० माघ ९, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार