मणिपालबाट हराएका बिरामी खोज्न चार घन्टा सेती ड्याम खोलिने


आज मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म  पोखरा महानगरपालिका-१६ दीपस्थित सेती नदीको ड्याम खोलिने भएको छ।

तनहुँ घर भई पोखरा महानगरपालिका-१६ स्थित लामाचौर बस्ने १९ वर्षीय संगम मिश्र  सोमबार (मंसिर २५ गते) पोखराको मणिपाल शिक्षण अस्पतालबाट हराएका थिए।

कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार उनको खोजी गर्नका लागि सेती नदीको ड्याम खोल्न लागिएको हो।

ज्वरोको उपचार गर्न बाबु हरिप्रसाद मिश्रसँगै सोमबार मणिपाल अस्पताल आएका संगम सोही साँझ साढे ६ बजे अस्पतालबाट हराएका थिए।

बाबु औषधी लिन बाहिर निस्किएका बेला संगम अस्पतालबाट भागेका थिए।

खोजतलासका क्रममा प्रहरीले मणिपाल अस्पतालबाट नदिपुरतर्फ आउने झोलुङ्गे पुलको बीचमा संगमले लगाएको कपडा र उनको आइडी कार्ड फेला पारेको थियो।

उनी सेती नदीमा हामफालेको हुनसक्ने आशंकामा प्रहरीले ड्याम खोल्न लागेको हो।

‘त्यसबाट सेती नदीमा पानीको बहाब बढ्छ। खोँचमा कतै अड्किएको रहेछ भने निकाल्छ भनेर ड्याम खोल्न लागिएको हो,’ डिएसपी विकले भने।

ड्याम खोलिने भएपछि सेती नदी वरपर सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

‘सेती नदीमा पानीको बहाव बढ्ने हुँदा उक्त  समयमा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नुहुन, नदिको किनारमा नजानुहुन र सुरक्षा सतर्कता अपनाउनु हुन सबैको लागि यो सूचना प्रकाशन गरिएको छ,’ प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ।


प्रकाशित मिति : २०८० मंसिर २८, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार