भरतपुर महानगरपालिकाद्वारा निजी स्वास्थ्य संस्थाहरूको अनुगमन


चितवन । भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालित निजी स्तरका स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्र पारेको छ । महानगरपालिकाले गत साउन १२ गते दर्ता नभएका संस्थालाई दर्ता गर्न आह्वान गरेको थियो ।

महानगरको सूचना प्रकाशन आधारमा निवेदन पेस भएका संस्थाहरूको पहिलो चरणमा अनुगमन गरिएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए । पहिलो चरणमा ५६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिने अधिकृत भट्टले बताए । हालसम्म ४२ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिसकिएको छ ।

जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि महानगरपालिकाले वर्षेनी स्वास्थ्य संस्थामा अनुगमन गर्ने गरेको छ । यस्तै अनुगमनका क्रममा सर्वसुलभ स्वास्थ्यको पहुँच वृद्धि गर्न टेवा पुग्ने भएकाले अनुगमलाई निरन्तरता दिइरहेको हो । स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरू तालिम प्राप्त भए नभएको, जोखिमयुक्त फोहरको व्यवस्थापनको अवस्थाबारे पनि अनुगमन गर्ने गरिएको छ ।

अनुगमनका क्रममा मापडण्ड पुरा भएकाहरूको दर्ता गरिनेछ भने पुरा नभएकाहरूलाई मापदण्ड पुरा गर्न अनुरोध गरिने छ । गत असोज २१ बाट सुरु भएको अनुगमन नियमित चल्ने बताइएको छ । गत वर्ष ४ वटा १५ शय्याको अस्पतालसहित ५२ वटा स्वास्थ्य संस्था दर्ता गरिएको थियो । हालसम्म दर्ता गर्न नआएका स्वास्थ्य संस्थालाई दर्ता प्रक्रियामा आउन महानगरपालिकाले सार्वजनिक आह्वान समेत गरेको छ ।

दर्तामा नआई मापदण्ड विपरीत सञ्चालन भएका स्वास्थ्य संस्थालाई कानुनी कारबाही गरिने महानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए ।


प्रकाशित मिति : २०८० मंसिर १७, आईतवार गते

धेरै पढिएको

ताजा समाचार