काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल सुरु


१६ मंसिर, काठमाडौं । काठमाडौंमा आजदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु हुँदैछ ।

कूल ३९ देशका ३४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा सहभागी हुनका लागि स्वदेशी तथा विदेशी कलाकार काठमाडौं आइसकेका छन् । कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने १५० भन्दा बढी नेपालका कलाकार सहभागी हुनेछन् । कार्यक्रमले नेपालको मौलिक पहिचान विश्वसामु पुर्याउन सहयोग पुग्ने कार्यक्रम संयोजक एनवी गुरुङले जानकारी दिए।

कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्याण्ड, बङ्गलादेश, भारत, अष्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आइसकेका छन् । सहभागी गराइने ३४० कला सिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सिर्जना सहभागी गराइएको छ ।

अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजनामा हुन लागेको कला महोत्सव मंसिर २० गतेसम्म चल्नेछ । उद्घाटनपछि नेपाल कला परिषद् बबरमहलमा विदेशी कलाकारको सहभागितामा कला डेमोस्ट्रेसन हुने र त्यसबाट सिकाइ आदानप्रदान हुने समाजका अध्यक्ष एवं महोत्सव संयोजक गुरुङले बताए ।

झण्डै १३ लाखदेखि १४ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको जलरङ महोत्सवअन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशालासमेत हुने तथा कलाकारलाई नगरकोट लगेर सूर्याेदय र सूर्यास्तको दृष्यावलोकन गराई कला सृजना गराइने उनले बताए ।


प्रकाशित मिति : २०८० मंसिर १६, शनिबार गते

धेरै पढिएको

ताजा समाचार