बाढीले क्षति पुर्‍याएकाे डेढ महिनापछि मेलम्ची पानी आउने दाबी, मर्मतमा १२ करोड लाग्ने


काठमाडौं : बाढीले क्षति पुर्‍याएकाे बहुचर्चित मेलम्ची खानेपानीको मर्मत सक्न अझै ४५ दिन लाग्ने भएको छ। मेलम्ची खानेपानी आयोजना विकास समितिले अबको ४५ दिन अर्थात् (डेढ महिना)मा मर्मत सकिने र अस्थायी रुपमा भए पनि पुनः पानी ल्याउने जनाएको छ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मर्मतको काम सकिएपछि अस्थायी रुपमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने जानकारी दिए। ‘प्राविधिक टोलीले सबै क्षतिको मर्मत सक्न ४५ दिन लाग्छ भनेको छ, काम सकिनेबित्तिकै अस्थायी रुपमा पानी उपत्यकामा आउँछ,’ उनले भने।

बहुप्रतीक्षित मेलम्ची खानेपानी पटक-पटक बन्द हुँदा अझै उपत्यकावासीले दीर्घकालीन रुपमा उपयाेग गर्न पाएका छैनन्। पहिलो पटक २०७८ चैत १५ गते काठमाडौं उपत्यकामा पानी वितरण थालिएको थियो तर, २०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुग्यो।

क्षति भएको ९ महिनापछि अर्थात् २०७९ वैशाख ११ गते अस्थायी रूपमा फेरि पानी काठमाडौं ल्याइयो। सरकारले पहिला जस्तो बाढीबाट क्षति हुन नदिन भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी ल्याउन बन्द गरेको थियो। बर्खा सकिए पनि सरकारले समयमा पानी भने ल्याउन सकेन।

बन्द गरेको ६ महिनापछि मात्र मेलम्चीको पानी काठमाडौं आयो। क्षति मर्मतपछि गत मंसिर २३ गतेदेखि पानी वितरण भएको थियो। फेरि मेलम्ची खानेपानी विकास समितिले यो वर्षामा पनि मेलम्चीको पानी ल्याउन संरचना मर्मतको काम गरिने भन्दै गत जेठ ५ गतेदेखि १५ गतेसम्म अर्थात् १० दिन पानी पठाउन बन्द गर्‍याे।

उक्त संरचना मर्मतपछि पानी उपत्यकामा आयो। विकास समितिले बर्खामा पनि पानी आउने जनाएको थियो तर पुनः बन्द गरियो र यस वर्षको बाढीले पनि आयोजनामा क्षति पुर्‍यायो। वर्षात् सकिए पनि अझै समितिले भने मेलम्ची पानी ल्याउन सकेको छैन।

मर्मत जारी

मेलम्ची खानेपानी आयोजना विकास समितिका अनुसार आयोजनासम्म पुग्ने बाटो नै छैन। अस्थायी सडक निर्माणका लागि कात्तिक तेस्रो सातादेखि नै काम सुरु गरिएको थियो।

तर दशैँ र तिहारका कारण मर्मत रोकियो। अहिले भने आयोजनाको मुख्य बाँध (हेडवर्क्स)सम्म पुग्ने बाटोको अहिले मर्मत भइरहेको विकास समितिका प्रवक्ता पन्तले जानकारी दिए।  ‘काम धमाधम भइरहेको छ, बाटो खुलेपछि हेडवर्क्समा पुग्छौँ, त्यसपछि त्यहाँ पनि तत्कालै मर्मत काम थाल्छौँ,’ उनले भने।

मर्मत गर्न १२ करोड खर्च लाग्ने 

मेलम्ची खानेपानी आयोजना विकास समितिका अनुसार २०७८ सालमा जस्तै गरी यस वर्षको बाढीले पनि आयोजनामा क्षति पुर्‍याएकाे छ। कति मिटर सुरुङ पुरियो भन्नेमा भने त्यहाँ पुग्न नसकिएकाले यकिन छैन।

सबै मर्मत गर्दा करिब १२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको समितिका प्रवक्ता पन्तले बताए। खर्चको सुनिश्चतता भएकै कारण अहिले मर्मतको काम भइरहेको उनको भनाइ छ।

तत्काल आयोजनाको हेडवर्क्स नसारिने

मेलम्ची खानेपानी आयोजना विकास समितिले हाल रहेको हेडवर्क्स क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको जनाएको छ। आयोजनाको दातृ निकाय एशियाली विकास बैंक (एडीबी) ले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब एक किलोमिटरमाथि सार्नुपर्ने सुझाव दिएको छ।

‘बैंकले आयोजनालाई अध्ययन प्रतिवेदन बुझाइसकेको छ, अब सो सम्बन्धमा काम अगाडि बढाउन सरकारले निर्णय गर्नुपर्छ, निर्णयपछि नयाँ हेडवर्क्स बनाउन सिफारिस गरिएको ठाउँको भौगर्भिक अध्ययनका साथै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न परामर्शदाता चयनका लागि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्छ,’ विकास समितिका प्रवक्ता पन्तले भने।

 


प्रकाशित मिति : २०८० मंसिर ११, सोमबार गते

धेरै पढिएको

ताजा समाचार