राम मन्दिरको गर्भगृहमा राख्न अयोध्या लगिएका नेपालका दुई शिला अलपत्र


काठमाडौं, भारतको उत्तरप्रदेशमा रहेको अयोध्यास्थित राम मन्दिरको मुख्य गर्भगृहमा राख्ने प्रयोजनका लागि माघको दोश्रो साता नेपालको कालीगण्डकीबाट दुईवटा भव्य शिला लगिएको थियो ।

मन्त्रिपरिषदबाट पारित गराएर भौगर्भिक अध्ययनपछि लगिएका शिलालाई नेपाली र भारतीय भूमि अयोध्या नपुगुन्जेल भव्य स्वागत गरिएको थियो ।

तर, अब नेपालबाट लगिएका शिला प्रयोगमा नआउने निश्चित भएको छ । माघ १८ गते अयोध्या पुगेका शिलाबाट राम मन्दिरको गर्भगृहमा रामको बाल्यकालीन मूर्ति बनाउने भनिएको थियो ।

पछिल्लोपटक कर्नाटकबाट ल्याइएका शिलाबाट रामलीलाको मूर्ति बनाउने काम भइरहेको छ । नेपालबाट अयोध्या लगिएका २४ टन र १४ टनका दुईवटा शिला अलपत्र परेका छन् ।

राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले नेपालका शिला निकै कडा भएकाले आकार दिन नसकिने ठहर गरेपछि कर्नाटकको शिलाबाट मूर्ति बनाउन लागिएको हो ।

ती शिला (शालिग्राम) गण्डकी प्रदेश सरकारका तर्फबाट जानकी मन्दिर हुँदै गोरखपुर पुगेर माघ १८ गते अयोध्या पुर्‍याइएको थियो ।

माघ १९ गते विधिवतरूपमा पूजाआजासहित जनकपुर मन्दिरका महन्थ राम तपेश्वर दासले राम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासचिव चम्पत रायलाई ती शिला हस्तान्तरण गरेका थिए ।

निर्माणाधीन राम मन्दिरको गर्भगृहमा श्रीरामको बालरूप झल्किने मूर्ति नेपालको शिलाबाट बन्ने खबरले कालीगण्डकी क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा थियो ।

अयोध्या र जनकपुरको सम्बन्ध फेरि जोडिने र त्यसले नेपाल भारत सम्बन्धको सांस्कृतिक आयाममा ठूलो योगदान पुग्ने विश्वास थियो । तर, यो विश्वासमा तुषारापात भएको छ ।

मन्त्रिपरिषद् बैठकले पुस २ गते कालीगण्डकी नदीका शिला पठाउने निर्णय गरेको थियो । गिटी ढुंगा निकासीमा प्रतिबन्ध लगाउने सरकारी निर्णय दुईवटा शिलाको हकमा फुकुवा भएको थियो ।

नेपाल र भारतका विज्ञको टोलीले कालीगण्डकीमा एक सयभन्दा बढी शिलाबाट दुईवटा छानेका थिए । माघ १ गते शिलाको क्षमापूजा गरिएको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा शिला हस्तान्तरण गरेका थिए ।

शिला लिएर जनकपुरका महन्थ राम तपेश्वर दास जनकपुर हुँदै अयोध्या पुगेका थिए । साथमा कांग्रेस नेता विमलेन्द्र निधि पनि परिवारै सामेल थिए ।

शिला लैजानु अगाडि भौगर्भिक अध्ययन गरेका डा। कुलराज चालिसे मूर्तिकार पहिले छनोट नहुँदा यो समस्या आएको बताउँछन् ।

मूर्तिकारले नेपालको शिला निकै कडा भएको र काट्नका लागि हिरा नै चाहिने भएको साथै अर्कातिर समयको चाप भएकाले यस्तो अवस्था आएको बताउँछन् ।

चालिसे भन्छन्, ‘पहिले मन्दिरको ट्रस्टले भने अनुसार नै हामीले शिला पठाएका हौं । तर, मूर्तिकारले यी शिलामा मूर्ति बनाउन नसकिने बताएपछि परिवर्तन गरेर कर्नाटकको शिलाबाट बनाउन लागिएको भन्ने सुनिएको छ ।

यसमा हाम्रो कुनै कमजोरी छैन । उहाँहरूले मागे अनुसारकै हामीले पठाएका हौं । मूर्तिकार पहिले छनोट गरेर शिला खोज्नुपर्नेमा पछि समस्या आएको बुझिएको छ ।’

नेपालबाट गएका शिला अब फिर्ता ल्याउन सरकारी तहबाटै पहल गर्नुपर्ने चालिसेले सुझाव दिएका छन् ।

राम मन्दिरको निर्माण मार्च २०२० देखि हुँदै आएको छ । राम मन्दिर ७० एकड जमिनमा ३६० फिट लम्बाइ, २३५ फिट चौडाइ र १६१ फिट अग्लो बन्दैछ ।

मन्दिरमा पाँच मण्डप रहनेछन् भने बीचमा गर्भगृह रहनेछ । भुइँतलामा गर्भगृह हुनेछ । पहिलो तलामा राम दरबार निर्माण हुँदैछ ।

जनवरी २०२४ मा राम मन्दिरको उद्घाटन हुने र दर्शनार्थीका लागि खुला गर्ने तयारी छ । राम मन्दिर र कम्पाउन्ड निर्माणका लागि करिब २० अर्ब भारतीय रुपैयाँ लाग्ने अनुमान छ ।

राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले सरकारबाट रकम लिएको छैन । भक्तजनबाट ३२ अर्ब रुपियाँ भन्दा बढी संकलन भएको छ ।


प्रकाशित मिति : २०८० आश्विन ३, बुधबार गते

धेरै पढिएको

ताजा समाचार