पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा, तराईमा हावाहुरीको सम्भावना


काठमाडौ, आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र तराईमा हावाहुरीको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका आज दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।

यस्तै, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति कोशी, मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै हाल बंगलादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव पनि छ ।

महाशाखाका अनुसार हाल कोशी, मधेश र बामगती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

त्यस्तै, कोशी प्रदेशका केही स्थान तथा मधेश र बागमती प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


प्रकाशित मिति : २०८० भाद्र १०, आईतवार गते

धेरै पढिएको

ताजा समाचार