हेटौंडा , नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रले २ अर्ब ३७ करोड ८२ लाख ९८ हजार ३ सय ६० रुपैयाँ विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ ।
विद्युत् बक्यौता नतिर्ने हेटौंडास्थित शिवम् सिमेन्ट उद्योगसहित नौ सय ४२ जनालाई कालोसूचीमा राखिएको केन्द्रका इञ्जिनियर सन्तोष चौहनले जानकारी दिए । उनका अनुसार सिमेन्ट उद्योगले आठ वर्षदेखि बक्यौता तिरेको छैन ।
इञ्जिनियर चौहनले उद्योगले हालसम्मको २ अर्ब २४ करोड विद्युत् महसुल बक्यौता तिर्न बाँकी रहेको जानकारी दिए ।
उद्योगसहित विद्युत् बक्यौता नतिर्ने नौ सय ४२ लाई कालोसूचीमा राखे पनि महसुल उठाउन नसकिएको इञ्जिनियर चौहनले बताए ।
प्राधिकरण हेटौंडाले हाल विद्युत् चोरी नियन्त्रण गर्न सफल भएको उन बताए । विगतमा धेरै चुहावट भए पनि अहिले सचेतनाका कारण चोरी सङ्ख्या घटेको चौहानको भनाइ छ ।
विद्युत् चोरी गर्ने २१ जनाबाट प्राधिकरणले १ लाख ६६ हजार ९१ रुपैयाँ जरिवाना लिएको उनले जानकारी दिए ।