विद्युत उत्पादनमा देश आत्मनिर्भर हुने सपना पूरा हुँदैछ : प्रधानमन्त्री दाहाल


भरतपुर, प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार विद्युत् उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पूरा गर्न लागिपरेको बताएका छन् ।

भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज (मङ्गलबार) समुद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुुन् ।

प्रधानमन्त्री दाहालले भने , ‘‘यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत् उत्पादनमा प्रोत्साहन गरेको छ ।’’ उनले अन्तरदेशीय ट्रान्समिसन लाईन विस्तार गरी विद्युत् व्यापारलाई प्राथमिकता दिएको उल्लेख गरे ।

प्रधनमन्त्री दाहालले भने , ‘‘हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत् खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।’’

उनले बङ्गलादेशसँग विद्युत् व्यापारको ढोका खुलेको बताउँदै आसन्न चीन भ्रमणमा पनि विद्युत् व्यापारको सम्भावना रहेको जानकारी गराए ।

प्रधानमन्त्री दाहालले आफूहरुको जोड बढीभन्दा बढी स्वदेशमा विद्युत् खपत गरी जनताको जीवनस्तर उकास्नेतर्फ नै सरकारको जोड रहेको पनि स्पष्ट पारे ।

उनले विद्युत् विकासमा उत्पादन, प्रसारण र वितरणको नीति लिइनुपर्ने बताए । विगतको मन्दताभन्दा अहिले उत्पादनमा तीव्रता आएको प्रधानमन्त्री दाहालको भनाइ छ ।

नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।

सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कुल लागत एक अर्ब ५२ करोड छ ।

हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । सात अर्ब ९४ करोड कुल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ ।

हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भएर बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।

प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।


प्रकाशित मिति : २०८० भाद्र ५, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार