काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्धनिर्देशक सुनील पौडेलसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगातार ४ दिनसम्म बयान लिएको भएपनि अख्तियार उनको बयानबाट सन्तुष्ट नभएको बताइएको छ ।
पौडेलको बयान सकिए पनि अख्तियारले ‘नेसनल पेमेन्ट गेटवे’ खरिदमा संलग्न विभिन्न पक्षसँग बयान लिने क्रम जारी राखेको छ ।
अख्तियारका अनुसन्धान अधिकृतहरूका अनुसार नेसनल पेमेन्ट गेटवे खरिद प्रकरणमा खरिद कार्यमा संलग्न, लागत अनुमान तयार गरी स्वीकृत गर्नेलगायतका सबै पक्षलाई क्रमशः बयानमा बोलाइएको छ र उनीहरूसँग बयान लिने क्रम जारी छ ।
स्रोतका अनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा सुनिलको नेतृत्वमा भएको उक्त खरिद प्रकरणमा करोडौंको अनियमितता गरेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेपछि अख्तियारले त्यसलाई उच्च प्राथमिकतामा राखेर छानबिन गर्दै आइरहेको हो ।
अख्तियारले यसअघि यस्तै खरिद प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई हालेको मुद्दाको नजिरले सुनिलमाथि पनि भ्रष्टाचार मुद्दा दायर हुने सम्भावना बढेको स्रोतको दाबी छ ।
अख्तियारले विकलसहित ९ जनाविरुद्ध सुरक्षण मुद्रणको पूर्वाधार खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने तथा आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने सामान खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरेको अभियोग लगाएको थियो ।
सुनिलको नेतृत्वमा खरिद गरेको नेसनल पेमेन्ट गेटवेमा पनि अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने तथा आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने सामान खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरेको पाइएको अख्तियारको प्रारम्भिक छानबिनले देखाएको बताइएको छ ।
अख्तियार स्रोतले खरिद प्रक्रियामा बदमासी भएको देखिएपछि थप प्रमाणहरू जुटाउने कार्य गर्दा केही समय लाग्न सक्ने बताएको छ ।
नेपाल समाचारपत्रबाट