आज कोशी र बागमती तथा राति गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध


काठमाडौं, बिहीबार तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती तथा राति कोशीका साथै गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै रहेपनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको छ ।

जसकारण दिउँसो र राति ती तीन प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।

अरू प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।

आज बिहान गण्डकी प्रदेशका धेरै स्थान, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हल्का, मध्यमदेखि भारी वर्षाको पनि सम्भावना रहेकाले नदी तटीय क्षेत्र लगायत पहिरोको जोखिम, गेग्रान बहने ठाउँ, डुबान हुन सक्ने होचा ठाउँमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


प्रकाशित मिति : २०८० श्रावण ३२, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार