सुन तस्करीमा संलग्न भएको आशंकामा पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा


काठमाडौं, सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी राकेश अडुकियाका छोरा र दुई चिनियाँ नागरिक थुनामुक्त भएका छन् ।

राजश्व अनुसन्धान विभागले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई बुझाएको थियो ।

तर, सीआईबीले उनीहरुलाई जिम्मा नलिएपछि प्रहरीले थुनामा राख्न आवस्यक नभएको भन्दै चाहिएका बेला उपस्थित हुने गरी छाडेको हो ।

व्यवसायी राकेश अडुकियाका छोरा रोहन दिल्लीबाट आउँदै गर्दा त्रिभुवन विमानस्थलमा पक्राउ परेका थिए । सुन तस्करीमा उनको संलग्नता नदेखिएको भन्दै थुनामुक्त गरिएको हो ।

पक्राउ परेपछि रोहनलाई राजश्व र सीआईबी दुवैले जिम्मा लिन अश्वीकार गरेका थिए । राजश्व विभागकै सिफारिसमा अध्यागमनले उनीहरु सबैलाई पक्राउ गरेको थियो ।

तर, तस्करीमा संलग्न भएको प्रमाण नभेटिएपछि छाडिएको प्रहरीले जनाएको छ । तीनजना लाई नै आवस्यक परेका बेला उपस्थित हुने कागज गराइएको छ ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा हङकङबाट आएको १५५ किलो सुन र ‘ब्रेक शु’ बरामद गरेको थियो ।

यो प्रकरणमा १ दर्जन भन्दा धेरै पक्राउ परिसकेका छन् । तर, मुख्य नाइकेको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

 


प्रकाशित मिति : २०८० श्रावण २७, शनिबार गते

धेरै पढिएको

ताजा समाचार