धनगढी, धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गको बूढीतोला सडकखण्डमा सोमबार राति पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सुचारु हुन नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ ।
डोटीबाट काम विशेषले धनगढीतर्फ आउँदै गरेका मीनराज जोशी गएको पहिरोका कारण तीन दिनदेखि बीच बाटोमै रोकिएका छन् । ‘
अवरुद्ध बनेको बाटो खुल्ला र धनगढी पुगेर आफ्नो काम गरौँला भनेर बाटोमै पर्खी बसेका छौँ’, उनले टेलिफोनमा भने, ‘आज चार दिन भइसक्दा सम्म बाटो नखुल्दा गोजीमा बोकेको खर्च सकिएर समस्यामा परेका छौँ ।’
पहिरो पन्छाएर सडकमा आवागमन सुचारु बनाउने काम जारी रहे पनि निरन्तरको वर्षाले पहिरो पन्छाउने काम प्रभावित भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताए । उनले लगातार वर्षा भइरहँदा पहिरो पन्छाउने काम प्रभावित बनेको बताए ।
‘गएको पहिरो र भासिएको सडकखण्डको ८० प्रतिशत भागलाई आवागमन गर्न सकिने बनाइसकेका छौँ’, उनले भने, ‘पूरै पहिरो पन्छाई बाटो आवागमन गर्न वर्षामा भर पर्ने देखिएको छ ।’ उक्त सडकखण्डको झन्डै चार सय मिटर लामो भागमा माथिबाट ठूलो पहिरो खसेको छ भने एक सय मिटर लामो भागमा सडकमा भासिएको छ ।
पहिरो खस्दा नजिकैका सात÷आठ घरपरिवार रहेको वस्ती पनि जोखिममा परेको छ । सडक डिभिजन कार्यालयले तीन स्काभेटर र दुई लोडर प्रयोग गरी पहिरो पन्छाउने काम गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लालाई जोड्ने एक मात्र यो सडक अवरुद्ध बन्दा पहाडी र तराईका जिल्लाको यातायात सम्पर्क टुटेको छ ।
योसँगै खाद्यान्न, औषधि, साग, तरकारीलगायत उपभोग्य सामानको सहज आपूर्तिमा समस्या सिर्जना हुन थालेको छ ।
बाटो अवरुद्ध हुँदा ठूलो सङ्ख्याका मालवाहक यातायातका साधन बीच बाटोमै रोकिएका छन् । यो राजमार्गमा दैनिक साना ठूला गरी दुई हजारभन्दा बढी यातायातका साधनको आवागमन हुने गर्छ ।
यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरो प्रभावित बुढीतोला सडकखण्डको स्थलगत अवलोकन गरी आवश्यक निर्देशन दिएका छन् ।
मुख्यमन्त्रीको टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवा र आन्तरिक मामिलामन्त्री शिवराज भट्ट पनि सहभागी थिए ।