दुई वटा ह्युमपाइपभित्र सीमित गरिएका यज्ञमती र चखुँचाखोलाको उत्खनन सुरु


काठमाडौँ, दुई वटा ह्युमपाइपभित्र सीमित गरिएका यज्ञमती र चखुँचाखोलाको उत्खनन सुरु गरिएको छ ।

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलाको उत्खनन शुक्रबारदेखि सुरु गरिएको हो ।

काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबिच तीनबुँदे सहमति भएपछि खोला उत्खनन थालिएको हो ।

धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले दुई वटा डोजर प्रयोग गरी खोला उत्खनन सुरु गरेको छ ।

काठमाडौँ महानगरपालिका–७ का वडाध्यक्ष विमलकुमार होडाका अनुसार शुक्रबार साँझसम्ममा झन्डै पाँच सय मिटर खोला खोलिएको छ ।

उनले भने , “काठमाडौँ महानगरतर्फ खुला ठाउँ छ । खोला पुरिएको माटो, बालुवा निकालेर खुला ठाउँमा भर्ने, सम्याउने र खोलालाई साबिककै अवस्थामा फर्काउने गरी काम भइरहेको छ ।”

काठमाडौँ महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१०, ११ र १२ को पानीको स्रोत यज्ञमती र चखुँचाखोलालाई ढलमा परिणत गरिएको थियो ।

जगडोल पार्कको देब्रेतर्फबाट बग्ने यज्ञमती खोला घुमेर कपन आनीगुम्बा हुँदै कपन प्रहरी चौकी, आरम्भचोकमा अर्को खहरेसँग मिल्छ ।

त्यसपछि चखुँचाखोला सुरु हुन्छ । चखुँचाखोला आरम्भचोक, मिलनचोक हुँदै धोबीखोलामा गएर मिसिन्छ ।

तीनबुँदे सहमति

काठमाडौँ महानगरपालिकाको टोली बिहीबारै खोला खोल्न पुगे पनि बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले असहमतिका कारण रोकिएको थियो ।

तर, शुक्रबार काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष भुवन लामा, वडा नम्बर–७ का अध्यक्ष विमलकुमार होडा, बुढानीलकण्ठ नगरपालिका–१० का अध्यक्ष नवराज भट्टराई र वडा नं। १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराईबिच तीनबुँदे सहमति भएपछि यज्ञमती र चखुँचाखोलाको अस्तित्व कायम हुने भएको हो ।

चार जनाको हस्ताक्षर भएको सहमतिपत्रमा धोबीखोलादेखि साततलेसम्मको बुढानीलकण्ठ–१० र काठमाडौँ–७ को सीमा भागमा नापजाँच भई पर्खाल लगाएकाले उक्त भागको सतहमा खोलामा राखिएको ह्युमपाइप निकाल्ने उल्लेख छ ।

साथै धोबीखोला किनार, पाथीभरा बस्ती, समता टोल जाने बाटो, साततलेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाडौँ महानगरले बेलिब्रिज निर्माण गर्ने सहमति भएको छ ।

त्यसै गरी साततले चोकदेखि उत्तरतर्फ बुढानीकण्ठ–१० र १२ तथा काठमाडौँ महानगरपालिका–६ मा दुवैतर्फका जग्गाधनीको नक्सा पुर्जाअनुसारको जग्गा छुट्याई बाँकी भएको जग्गा खहरे कायम गरी दुवै महानगर र नगरपालिकाको सिमाना र खोलाको भाग रेखाङ्कन गरी छुट्याउने सहमति पनि भएको छ ।

नापजाँचबाट सीमा यकिन गरी खोलाको भाग छुट्याएपछि दीर्घकालीन समस्या समाधान हुने गरी योजना बनाएर खोला र बाटो व्यवस्थापन गर्ने सम्बन्धमा दुवै स्थानीय तहको सम्बन्धित वडाध्यक्षहरूको लिखित सहमतिमा दोस्रो चरणको काम सुरु गर्ने सहमति भएको छ ।

उनीहरूबीच दुवैतर्फबाट काममा सहजीकरण गरी विवाद निरूपण गर्ने सहमति भएको छ । २०५० यता अव्यवस्थित बस्ती विस्तारका कारण खोला पुरिएको थियो ।

सरस्वतीनगर सुधार सङ्घका अध्यक्ष पेशल पहाडीका अनुसार २०६० पछि खोला अतिक्रमण झनै बढेको थियो ।पूर्वमन्त्री एवं जलस्रोतविज्ञ दीपक ज्ञवालीले यज्ञमती र चखुँचाखोला खोल्नु सकारात्मक भएको बताए ।

उनले भने , “बेलैमा काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाले खोला खोल्न अग्रसर हुनु सकारात्मक हो ।

कुरा प्रस्टै छ, यदि अहिले खोला नखोल्ने हो भने खोलाले बस्ती नै खोलेर आफ्नो बाटो कायम गर्ने सम्भावना प्रबल थियो ।”


प्रकाशित मिति : २०८० श्रावण २७, शनिबार गते

धेरै पढिएको

ताजा समाचार