काठमाडौं, ‘विकासको पनि विकास’का रुपमा लिइने भौतिक पूर्वाधारअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित रुपमा सन्तोषजनक नभएको पाइएको छ ।
एकाध आयोजनाको प्रगति राम्रो भएपनि अधिकांश आयोजना सम्पन्न हुन अझै केही वर्ष लाग्ने देखिएको छ ।
सरकारले नागरिकलाई सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजना समयमा पूरा नहुँदा लागत र समय दुवै बढेको छ ।
यसबाट नागरिकले अपेक्षित लाभ लिन सकेका छैनन् भने सरकारले अन्य महत्त्वपूर्ण आयोजना सुरु गर्न सकेको छैन ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहत विभिन्न छवटा राष्ट्रिय गौरवका आयोजना छन् । ती आयोजना समयमै सम्पन्न हुन नसक्दा राज्यको दायित्व हरेक वर्ष बढ्दै गएको छ ।
सो मन्त्रालय मातहत रहेको कालीगण्डकी करिडोर (बेनी–जोमसोम योजना) आयोजना आव २०७३/७४ मा सुरु भएको हो । सो आयोजना आव आव २०८१/८२ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको कुल लागत रु. १० अर्ब ५७ करोड बराबर छ । हालसम्मको भौतिक प्रगति ७३ प्रतिशत बराबर छ ।
बाँकी रहेको एक सय दुई किलोमिटरमा कालोपत्रका लागि ठेक्का व्यवस्थापन हुन अझै बाँकी छ ।
दुईवटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी छ । आयोजनामा कुल पुल सङ्ख्या ३२ वटा छन् । सडकखण्डमध्ये एक सय किलोमिटर कालोपत्र भएको छ ।
यस्तै, कर्णाली करिडोर हिल्सा सिमीकोट सडक आव २०६९/७० देखि सुरु भएको हो । आयोजना आव २०८३/८४ मा सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको छ ।
आयोजनाको कूल लागत रु। छ अर्ब ६६ करोड बराबर छ । हालसम्मको भौतिक प्रगति मात्रै २४ प्रतिशत बराबर छ । वित्तीय प्रगति २० दशमलव २१ प्रतिशत बराबर छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उत्तर दक्षिण राजमार्ग कालीगण्डकी करिडोर गैडाकोट राम्दी मालढुङ्गा खण्ड आव २०६६/६७ मा सुरु भएको हो ।
सो आयोजना आव २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागत रु. २५ अर्ब २२ करोड बराबर छ । हालसम्मको भौतिक प्रगति मात्रै ४५ प्रतिशत बराबर छ ।
त्यस्तै, वित्तीय प्रगति ४३ प्रतिशत बराबर छ । सो आयोजनामा कुल ५७ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म ३० वटा सम्पन्न भएका छन् ।
यस्तै २७ वटा निर्माण हुन बाँकी छ । सो सडकखण्ड कुल दुई सय ४५ किलोमिटर रहेकामा एक सय ७७ किलोमिटर बराबर कालोपत्र भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उत्तर दक्षिण कोशी सडक योजना खाँदबारी किमाथाङ्का आव २०६५/६६ देखि सुरु भएको हो ।
सो आयोजना आव २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कुल लागत रु. ११ अर्ब ९३ करोड बराबर छ ।
हालसम्मको भौतिक प्रगति ४२ प्रतिशत र वित्तीय प्रगति ४२ प्रतिशत छ । सो आयोजनामा कुल २१ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म ११ वटा मात्रै पूरा भएको छ ।
आयोजना कुल एक सय ६२ किलोमिटर रहेकामा आव २०७९/८० को अन्त्यसम्म ७४ किलोमिटर मात्रै ग्राभेल भएको छ ।
हुलाकी राजमार्ग आव २०६६/६७ देखि सुरु भएको हो । सो आयोजना चालू आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि कार्यप्रगति सन्तोषजनक नभएपछि आव २०८३/८४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
सो आयोजनाको लागत रु. ६५ अर्ब २० करोड बराबर छ । सो आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत र वित्तीय प्रगति ९१ प्रतिशत बराबर छ ।
हालसम्म रु. ५९ अर्ब ६५ करोड बराबर खर्च भएको छ । आयोजनामा कुल दुई सय ५० पुल निर्माण गर्नुपर्नेमा एक सय ३२ वटा सम्पन्न भएका छन् ।
हालसम्म एक हजार ३९ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । कुल एक हजार आठ सय ५७ किलोमिटर निर्माण गर्नुपर्नेछ ।
यस्तै, कूल एक सय ६७ दशमलव पाँच किलोमिटर सडकखण्ड र ५० वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पुष्पलाल मध्य पहाडी राजमार्ग आव २०६४/६५ मा सुरु भएको हो ।
आयोजना आव २०७९/८० सम्पन्न गर्नुपर्ने भएपनि निर्माण पूरा नभएपछि आव २०८४/८५ सम्म लम्ब्याइएको छ । आयोजनाको कुल लागत रु। ८४ अर्ब ३३ करोड बराबर छ ।
हालसम्म भौतिक प्रगति ७२ दशमलव ७० प्रतिशत र वित्तीय प्रगति ७६ दशमलव ८० प्रतिशत बराबर छ ।
हालसम्म आयोजनामा रु. ६४ अर्ब ७६ करोड बराबर रकम ‘मोबिलाइजेसन’ पेस्कीसमेत गरेर खर्च भएको छ । सो आयोजनामा कूल एक सय ३७ पुल निर्माण गर्नुपर्नेमा हालसम्म एक सय दुईवटा निर्माण भएको छ ।
आव २०७९/८० को अन्त्यसम्म एक हजार चार सय दुई किलोमिटर बराबर सडक निर्माण पूरा भएको छ । सो आयोजनाको कुल लम्बाइ एक हजार आठ सय ७९ किलोमिटर छ ।
यस्तै, एक सय १६ किलोमिटर सडक र १५ वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी छ ।
राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति गत आर्थिक वर्षभन्दा बढी भएपनि पूर्णरुपमा सन्तोषजनक नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
अघिल्लो आवभन्दा गत आवको प्रगति राम्रो भएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिनुभयो ।
राष्ट्रिय गौरवका आयोजना, रुपान्तरणकारी योजना र अन्य महत्त्वपूर्ण योजनालाई युद्धस्तरमा अगाडि बढाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्देशन दिए ।
वर्षौं पहिले निर्माणका काम थालिएका आयोजना पटकपटक म्याद थप्दा पनि नसकिँदा नागरिकमा गलत सन्देश गएको भन्दै मन्त्री ज्वालाले यो वा त्यो बहानामा निर्माण कार्य ढिला नगर्न निर्देशन दिए ।
“अन्धाधुन्ध काम गरेरमात्र हुँदैन, शक्तिशाली सिंहजस्तै दुई कदम अगाडि बढ्ने र एक पटक समीक्षा गर्ने नीति लिएर निर्माण कार्यमा लाग्न जरुरी छ”, मातहतका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री ज्वालाले भने , “प्रत्येक चौमासिकमा योजनाहरुको अनिवार्य समीक्षा गर्ने चलन बसालौँ, त्यसले आयोजनामा देखिएका समस्याको पहिचान र समाधानको उपाय दिन्छ ।”
मन्त्री ज्वालाले नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई मधेश फास्ट ट्याकको कामलाई गति दिनुपर्ने बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनामा अपेक्षित प्रगति नहुँदा राज्यले गरेको लगानी र त्यसबाट प्राप्त हुने प्रतिफल नागरिकस्तरमा पुग्न नसक्दा असन्तुष्टि बढेको बताउँदै विकासको समग्र प्रक्रियामा नै पुनरवलोकन गर्नुपर्नेमा जोड दिए ।
रासस /गोरखापत्र