काठमाडौं, सरकारले एक सय किलो सुन तस्करी प्रकरण छानबिनको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई दिने तयारी गरेको छ ।
प्रहरीलाई बाइपास गरेको भन्दै आलोचना बढेपछि सरकारले सुन तस्करी छानबिनको जिम्मा सिआईबीलाई दिन लागेको हो ।
यसअघि सुन तस्करी प्रकरणलाई प्रधानमन्त्री कार्यालयमातहतको राजस्व अनुसन्धान विभागले हेरिरहेको थियो ।
गृहमन्त्रीसँगै सुरक्षा निकायका उच्च अधिकारीसँगको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करी छानबिनको जिम्मा सिआईबीलाई दिन लागेका हुन् ।
साउन २ गते विमानस्थल बाहिरबाट मोटरसाइकलको ब्रेक सुमा लुकाएर ल्याइएको सुन राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको थियो । बरामद सुन राष्ट्र बैंकको टक्सार विभागमा राखिएको छ ।
यो प्रकरणमा भन्सारका अधिकृतसहित तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् ।
साउन ३ बाट सुरु यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म पुग्न सकेको छैन ।